जाजरकोटका १२ देखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकाले लगाए खोप

माघ ५, जाजरकोट – जाजरकोटमा १२ देखि १७ वर्षका २३ हजार २० बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ।

१२ पुसदेखि सञ्चालन भएको खोप अभियान जिल्लाका सातवटा स्थानीय तहका २ सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा सञ्चालन भएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाले बताए।

उनका अनुसार १२ देखि १७ वर्ष उमेरका शतप्रतिशत बालबालिकालाई खोप लगाइएको हो। बारेकोटमा २ हजार ६ सय ३१, कुशेमा २ हजार ९ सय १०, जुनीचाँदेमा ३ हजार १ सय ४३, छेडागाडमा ५ हजार ९९, शिवालयमा १ हजार ४ सय ५६, भेरीमा ४ हजार ३ सय ११ र नलगाडमा ३ हजार ६ सय ५१ लाई खोप लगाइएको हो।

जाजरकोटमा बालबालिकासँगै अन्य उमेर समूहका लागि पनि खोप अभियान सञ्चालनमा छ। हालसम्म ८६ हजार २ सय ४४ जनालाई पहिलो र ६५ हजार ४ सय ७२ लाई दोस्रो मात्रा खोप लगाइको बुढाले जानकारी दिए।