सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ

माघ ४, सुर्खेत-  जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गरे ।

उनले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु कोइरालालाई डिजिटल राहदानी प्रदान गरे । उक्त कार्यक्रममा प्रजिअ रिजालले भने ‘ सुरुका दिनमा राहदानी बन्न एक महिना लाग्थ्यो अब छोटो समयमै बन्ने भएको छ । यसले समय, पैसा र कागजको बचतका साथै सेवा प्रवाह पनि सहज बन्दै गएको छ ।’

उनका अनुसार १० दिनमा ११८ राहदानी बनेका छन् । हस्तलिखित, एमआरपी हुँदै अहिले डिजिटल राहदानी आइपुग्दा यसले मानव जीवनलाई पनि अझ बढी सफल बनाएको बताए । राष्ट्रिय परिचयपत्र भरेकाले राहदानी शाखामा रुजु गरेर लाग्ने शुल्क ५ हजार तिरेपछि राहदानी प्राप्त हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।