एक घण्टाको यात्रा २० मिनेटमा

माघ २, म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो । स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको बताए ।

‘गाडी चढेर रिसिन चौतारीदेखि रानीपौवा–पिप्ले हुँदै घुमाउने ताल पुगेर बेनी–जोमसोम सडकमा निस्कन पूरै एक घण्टा लाग्ने गरेको थियो । ’ उनले भने ‘ रिसिन चौतारीदेखि बैसरीको हाइवेमा झरेर बेनी पुग्दा करिब ४० मिनेटको समय बचत हुन्छ । ’

पैदल हिँडेर रिसिन चौतारीदेखि बैसरी पुग्न पनि करिब एक घण्टा नै लाग्दथ्यो । रघुगङ्गा गाउँपालिका र सङ्घीय सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २५ लाख बजेटबाट गत आर्थिक वर्षमा मार्ग खोलिएको बैसरी–रिसिन चौतारी सडक मर्मत र स्तरोन्नतिपछि हालैदेखि यातायातका साधन चल्न थालेका छन् ।

उपभोक्ता समितिका सचिव राजन केसीले बैसरीमा करिब एक सय मिटर पहाड छिचोल्नेसहित दुई किलोमिटर सडक निर्माण भएको बताउनुभयो । रिसिनचौतारी, माझखर्क, ओखरबोटलगायत बस्तीका करिब चार सय घरधुरी यो सडकबाट लाभान्वित भएको उनले बताए ।

काम विशेषले सदरमुकाम बेनी र गलेश्वर जानआउनका साथै कृषि र पशुजन्य उपज निकासीका साथै निर्माण र दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ । रिसिनचौतारी र माझखर्क केरा खेतीको पकेट क्षेत्र हो । बिरामीलाई अस्पताल लैजान सजिलो भएको छ ।

यस सडकबाट कालीगण्डकीको बगरबाट घर, भवन, सडक, सिँचाइ, खानेपानीलगायत विकास आयोजनाका लागि भगवतीमा निर्माण सामग्री ढुवानी गर्नसमेत सुविधा पुगेको छ । रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष रिम कटुवालले राजमार्गसँग जोडिने छोटो दूरीको यो सडकले रिसिनचौतारीसँगै भगवतीका बासिन्दाको आयआर्जन र समग्र विकासमा फाइदा पुगेको बताए ।