राष्ट्रिय सभा सदस्य निर्वाचन -आज उम्मेदवारको नामावली प्रकाशन हुने

पुष २३, काठमाडौं – राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ। आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ।

पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्। निर्वाचन माघ १२ गते हुनेछ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको छ। मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

प्रायः सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन्।

आयोगका अनुसार नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उम्मेदवारी दर्ता गराएका छन्।