चिसो बढेपछि विद्यालय बन्द

पुष २२, राझा – चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिए ।

उनका अनुसार चिसोका कारण सरकारी विद्यालय बन्द गरिए पनि निजी विद्यालय भने बन्द गरिएको छैन । कठ्याँग्रिदो चिसोमा समेत निजी विद्यालयले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन् ।

पछिल्लो एक सातादेखि बाँकेमा अत्यधिक चिसो बढेको छ । त्यसका कारण विद्यालयमा पढ्न आएका बालबालिका बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख यादवको भनाइ छ ।