कर्णालीका दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गरिने

पुस १९, कर्णाली – कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश खेलकूद परिषद्का पदाधिकारीबीच आइतबार बसेको समीक्षात्मक बैठकले जुम्लाकी सुनमाया बुढालाई रु दुई लाख र जाजरकोटकी कामना विष्टलाई रु ५० हजार नगद प्रोत्साहन प्रदान गर्ने निर्णय गरेको हो ।

थाइल्याण्डमा सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा जुम्लाकी धावक सुनमायाले दुई हजार प्रतियोगीलाई पछि पार्दै महिलातर्फ प्रथम स्थान हासिल गरेकी छन् । भने पुलिस क्लबको प्रतिनिधित्व गर्दै जाजरकोटकी कामनाले बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालको पक्षमा पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

समीक्षात्मक बैठकमा मुख्यमन्त्री शाहीले प्रतियोगिताका विजयी खेलाडीलाई टेलिफोनमार्फत बधाई दिनुका साथै प्रोत्साहन स्वरुप नगद प्रदान गर्ने घोषणा गरे । मुख्यमन्त्री प्रदेश खेलकूद परिषद्का संरक्षकसमेत छन् ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालले मुख्यमन्त्रीसँग वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेशस्तरीय रङ्गशालामा भलिबल कर्भडहल निर्माण गर्ने, रङ्गशाला निर्माण नहुञ्जेल कालिञ्चोक मैदानलाई वैकल्पिक खेल मैदानको रुपमा प्रयोगमा ल्याउने विषयमा छलफल भएको जानकारी दिए ।

परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले प्रदेश रङ्गशाला निर्माणमा भइरहेको प्रगतिबारे मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो । मङ्सिर २० गते शिलान्यास भएको रङ्गशालाको हाल माटो परीक्षण कार्य सम्पन्न हुनुका साथै साइट घेरबार, पानीका लागि डिप बोरिङ, विद्युत् जडानको काम भइरहेको बताइएको छ ।