जनयुद्धका घाइते घरेलु हिंसाका पीडित

पुष ८, कर्णाली – देब्रेतर्फको काँधदेखि खुट्टासम्म प्यारालाइसिस हुँदा शरीर थाम्न गाह्रो छ, चेतन सिग्देललाई । अचेल शरीर थाम्न सहयोग गर्ने परिवारले नै अपमान गर्न थालेपछि सिग्देलको पीडाले सीमा नाघ्न थालेको छ । युद्धताका कैंयन अप्ठ्यारो मोडमा शरीर थामेर जीवन बचाएका सहयोद्धाले आजकाल चिन्न छोड्दा चेतनमा खिन्नता बढ्दै गएको छ ।

पञ्चपुरी नगरपालिका–८ तुलालथाई सुर्खेत स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतमा बस्दै आएका चेतन पार्टीले घाइते अपाङ्गप्रति गरेको व्यवहारले पनि त्यस्तै दिक्क हुनुहुन्छ । शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवार, घाइते अपाङ्गता भएका व्यक्तिले के गरिरहेका छन्, भन्ने सोधीखोजी नगर्दा निकै दुःख लागेर आएको उनले बताए ।

विसं २०५९ फागुनमा १६ वर्षको कलिलो उमेरमा भूमिगत हुनुभएका चेतनले सुरुमा कलाकारिता क्षेत्रमा जोडिएको र त्यसपछि वाइसियल सुर्खेतको जिल्ला सदस्य हुँदै जनमिलिसियाको कमाण्डर र तत्पश्चात् सेनामा काम गरेको विगत उनले सुनाए । उनले सेनामा जोडिएपछि विसं २९६२ सालभरि रुकुमको पिपल, स्याङ्जाको मनकामना, पाल्पाको तानसेन, नवपरासीको सुनवल र कपिलवस्तुको तौलिहवा गरी पाँच ठाउँको युद्ध लडे ।

अन्तिमको युद्ध भने विसं २०६२ फागुन २५ गते कपिलवस्तुको सदरमुकाम तौलिहवाको थियो जुन युद्धमा सिग्देलको शरीरको दायाँ भागमा गोली लाग्यो । उक्त गोलीबाट सख्त घाइते भएका उहाँको दायाँतर्फको भाग प्यारालाइसिस भयो । गोली निकालेको केही समयपछि मस्तिष्कमा रगत जम्यो र बायाँतर्फको सिङ्गो शरीर प्यारालाइसिस भएपछि एक दशकदेखि उनको आधा शरीर मृतावस्थामा छ ।

प्यारालाइसिस भइसकेपछि २०६२ सालदेखि सुर्खेतको दशरथपुर रहेको माओवादी क्याम्पमा बसेर २०६८ सालमा अवकाश लिएको उनले बताए । उनले आफूजस्तै साथीहरुले क र ख वर्गमा पारेर मासिक रु नौदेखि १८ हजार जीवन निर्वाह भत्ता खाइरहेको जनाउनुभयो । उक्त सेवा नपाउँदा कठिन तरिकाले जीवन जिइरहका आफूजस्तै घाइतेको विजोग भएको अपाङ्गता भएका व्यक्ति उनको भनाइ थियो । चेतनका अनुसार पार्टीले बेवास्ता गरिहरँदा घरबाट त्यसभन्दा अझ बढी असहयोग भएको छ । पाँच÷छ वर्षदेखि उनलाई घर परिवार र ससुरालीले पनि पीडा दिँदै आएका छन् । प्यारालाइसिस अवस्था हुँदा आफ्नै घरको श्रीमतीले नै धिकार्न थालेपछि त्यस व्यवहारले उनलाई मरु कि बाँचु भन्ने सोचले किनारामा पु¥याएको छ ।

त्यतिमात्र नभएर श्रीमतीले आफूलाई चाँडो डिभोर्स दे भन्ने र ससुरालीले पनि सम्बन्धविच्छेद दिन धम्की दिइरहेको उनले बताए । परिवारको अपमान, गाली र ससुरालीको धम्कीको पीडाले आफूलाई सताएको चेतनले बताए । साहारा पाउने बेला नै बेसाहारा बन्नुपर्ने परिस्थिति आइलागेपछि चेतनलाई त्यसले निकै पीडित बनाएको छ । तीन वर्षअघि काठमाडाँैमा ‘प्रचण्ड’लाई भेटेर समस्या बताउँदा सबैको व्यवस्था गर्छु भनेर अध्यक्ष प्रचण्डले जवाफ दिएको उनले सुनाए ।

प्यारालाइसिसले थलिएका ३४ वर्षीय चेतनलाई अझै पनि एकचोटि पुनः अध्यक्ष प्रचण्ड र तत्कालीन लडाइँको कमाण्डर जनार्दनलाई भेट्ने इच्छा छ ।