दुर्गमको पीडा- डोल्पामा सधैं हवाई टिकटकै सास्ती

मंसिर ७, जाजरकोट –फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौँतर्फ लागे

दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाईमार्ग भएर गन्तव्यमा पु¥याउन होटल सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुप¥यो । दुई दिनपछि गिरीलाई बल्लबल्ल टिकट उपलब्ध गराएएपछि नेपालगञ्ज पठाएकामा डाँगीले खुसी व्यक्त गरे ।

गिरीजस्तै बुटवलका रमेश न्यौपानेले पनि जुफाल विमानस्थलमा टिकटका लागि चार दिन बस्नुप¥यो ।बिहान ४ बजेदेखि नै विमानस्थलको मूलढोकामा टिकटका लागि यात्रु लाइन लाग्छन् । टिकटका लागि उनीहरु राति जाग्राम बस्छन् । ‘उडान धेरै भए टिकट सबैलाई दिनहुन्थ्यो, तर अवस्था त्यस्तो छैन ’ समिट एयरका प्रमुख पूर्णजङ्ग शाहीले भन्नुभयो, “हामीसँग जम्मा १७ सिट क्षमता छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउँदा सबैलाई ठाउँ दिन सकिँदैन । सक्दो मिलाउने प्रयासमा हुन्छौं ।’

शाहीका अनुसार समिटको एउटा जहाजले मात्र डोल्पाका लागि उडान भर्छ । डोल्पाबाट टिकट पाएर बाहिर जाँदा र आउँदा ठूलै युद्ध जितेझैँ हुने यात्रु बताउँछन् । डोल्पामा प्रेस सेन्टरको जिल्ला अधिवेशन सम्पन्न गर्न हिँडेका कर्णाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले नेपालगञ्ज र जुफाल विमानस्थलमा यात्रुको चाप देख्दा आफू अचम्ममा परेको बताए । उनले भने ‘सडकमार्ग राम्रो भएको भए सायद हवाईमार्गमा यति धेरै चाप हुने थिएन होला । विमानस्थलको अवस्थासमेत राम्रो छैन ।’

डोल्पाका अधिकांश सर्वसाधारण र घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक हवाईमार्गबाटै नेपालगञ्ज झर्ने भएकाले यात्रुको चाप बढी हुने गर्दछ । नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलमा जाँदा रु नौ हजारभन्दा बढी भाडा लाग्छ भने जुफालबाट नेपालगञ्ज आउँदा रु पाँच हजार बढी भाडा तिर्नु पर्छ । जति महङ्गो भए पनि भनेको बेला टिकट नपाउँदा यात्रुले समस्या भोग्दै आएका छन् । पत्रकार महासङ्घ डोल्पाका सचिव लेखबहादुर भन्छन्, ‘टिकट हातमा परे पनि ढुक्क हुने अवस्था छैन, सिकिस्त बिरामी आए उनीहरुलाई नै पठाउनु पर्दछ ।’

डोल्पामा निजी क्षेत्रका दुई हवाई कम्पनीले उडान भर्दै आएका छन् । समिट र तारा एयरले मात्र डोल्पामा एक÷एक उडान भर्दा यात्रुको चाप बढेको हो । नेपाल एयरलाइन्सले डोल्पामा उडान नभरेको झण्डै दुई वर्ष हुन थालेको छ । यात्रुको चाप हेरेर उडान सङ्ख्या थप्नुपर्ने माग डोल्पावासीको छ । डोल्पाको मेसिनेचौरमा समेत अर्को विमानस्थल छ, तर त्यो सञ्चालनमा आउन सकेको छैन ।