पाल्पामा आयुर्वेद सेवा प्रति आकर्षण

असोज ३१, पाल्पा– पाल्पा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थालेका छन् ।

आयुर्वेद औषधिमा विश्वास कम गर्ने र मेडिकल तथा अन्य अस्पतालमा सेवा लिन धाउने बिरामी हिजोआज आयुर्वेद औषधालयमा सेवा लिने गरेको पाइएको छ । विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ । यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दो छ ।

आर्थिक वर्ष २०७७÷७८ मा ४१ हजार ९९३ जनाले सेवा लिएका छन् भने आव ०७६÷७७ मा ३२ हजार ७२१ जनाले सेवा लिएको पाइएको छ ।
आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेका छन् । गाउँघरमा पाइने बहुमूल्य वानस्पतिबाट तयार पारिएको आयुर्वेद औषधिको सेवन स्वास्थ्यका लागि फाइदाजनक भएकाले नियमित रुपमा सेवन गरिरहेको रामपुरका हरिकला ढकालले बताए ।

सरकारको विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये आयुर्वेद औषधालयबाट २३ प्रकारका औषधि पाइन्छ । यो सबै आयुर्वेद स्वास्थ्य संस्थामा नियमित उपलब्ध छ । नियमित रुपमा आयुर्वेदको औषधि खान थालेपछि पेट दुख्ने, खान अरुचि हुने जस्ता विभिन्न समस्या सबै निको भएको बताउछन् मथुरा रेग्मी । उनले .आयुर्वेद औषधालयबाट अहिले नियमित रुपमा औषधि उपचार सेवा लिँदै आएका छन् ।

जिल्लाका विभिन्न आयुर्वेद स्वास्थ्य संस्थाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्वकर्म पञ्चकर्म, गाउँघर क्लिनिक, शिविर, घर घरमा आयुर्वेद सेवा कार्यक्रम सञ्चालन गरिएको छ ।

यस्तै क्वारेन्टिनमा कोभिड नियन्त्रण तथा चौध दिने योग प्याकेज कार्यक्रम, कोरोना पोजेटिभ बिरामीहरुका लागि आइसोलेसन सेन्टर र घरघरमा सेवा, प्रतिरोधात्मक क्षमता बढाउने औषधि र व्यायाम सिकाउने कार्यक्रम सञ्चालन भएका छन् ।

सरकारले सिफारिस गरेका औषधिहरु बिरामीको स्वास्थ्य जाँच गरेर मात्रै वितरण भइरहेको रामपुर नगरपालिका आयुर्वेद शाखाप्रमुख चेमनप्रकाश पोखरेल बताउनुहुन्छ । उनका अनुसार नियमित रुपमा आयुर्वेद औषधि सेवन गर्ने बिरामी बढिरहेका छन् । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजित लगायतका विभिन्न वानस्पति वस्तुहरु मिसाएर बनाइएको औषधि स्वास्थ्यका लागि हित मानिन्छ ।

सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने रामपुर नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एकवटा आयुर्वेद औषधालय रहेका छन् ।

यस्तै गत आर्थिक वर्षमा रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ भने तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ ।