साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्ने

असोज २४, एजेन्सी  – माल्दिभ्समा चलिरहेको साफ च्याम्पियनसिप फुटबलमा आज राति नेपाल र भारतबीच प्रतिश्पर्धा हुने भएको छ।

कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप जित्ने सपना साकार बनाउन भारतविरुद्धको खेल महत्वपूर्ण रहेको बताए।
साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो। पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।

नेपालले भने लगातार दुई खेल जितेको छ। पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो। नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ।