चार स्थानमा नागरिक सहायता कक्ष स्थापना

असोज १८, काठमाडौँ – जिल्ला प्रहरी कार्यालय तनहुँले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको चार स्थानमा नागरिक सहायता कक्षा स्थापना गरेको छ । प्रहरीले आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सो कुराको जानकारी गराएको हो । लामो तथा छोटो दूरीमा जाने यात्रुका लागि सहयोग गर्न सहायता कक्ष स्थापना गरेको हो । जिल्लाको पूर्वी नाका आँबुखैरेनीको पुल नजिक, बन्दीपुरको डुम्रे बजार, दमौलीको भेटघाट र शुक्लागण्डकीको बेलचौतारामा सहायता कक्ष स्थापना गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

आवश्यकताअनुरुप जिल्लाको अन्य शाखा सडकमा समेत नागरिक सहायता कक्ष स्थापना गर्ने योजना रहेको उनले बताए । प्रहरीले हरेक दिन पृथ्वीराजमार्ग र ग्रामीण सडकखण्डमा सडक सुरक्षा जाँचको व्यवस्था मिलाएको जनाएको छ ।

चाडपर्वका समयमा हुनसक्ने चोरी, डकैती, कालोबजारी, जुवातास, पटक पड्काउने जस्ता कार्यलाई निरुत्साहित गर्न प्रहरीले पहलकदमी थालेको छ । धनजनको सुरक्षाको लागि जिल्लाभरि ५८४ प्रहरी खटाइएको छ । उनले भने, “हरेक दिन एक प्रहरी एकाइबाट एउटा गाउँ अनिवार्य गस्ती गर्ने व्यवस्था मिलाइएको छ ।”

चाडपर्व ढुक्कले मनाउनुहोस्, साथमा प्रहरी छँदैछ भन्ने मूल मन्त्रका साथ प्रहरीले नागरिकको सुरक्षाका लागि अहोरात्र खट्ने हुँदा ढुक्क भएर चाडपर्व मनाउन आग्रह गरेको छ । प्रहरीले गस्तीलाई निरन्तरता दिँदा हुनसक्ने आपराधिक क्रियाकलापका घटनामा न्यूनीकरण आउने विश्वास गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

असोज १५ गतेदेखि बजार र आसपास क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरिसकिएको छ । उनले भने, “शङ्कास्पद व्यक्ति भेटिए प्रहरीले तत्काल पक्राउ गरी नियन्त्रणमा लिनेछ ।” त्यसैगरी हतियारसहितका युनिफर्म लगाएका प्रहरी मोटरसाइकलमा समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।