पुलको नाम ‘गण्डकी सुनौलो झुला’ पारित

‘भदौ २३, काठमाडौ – सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई नेपाली र अङ्ग्रेजी भाषामा नामकरण गरिएको छ । पुलको संरक्षणकर्ताका रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले ‘गण्डकी गोल्डेन ब्रिज’ र ‘गण्डकी सुनौलो झुला’ राख्ने निर्णय गरेको हो ।

पुलको नाम अङ्ग्रेजी र नेपाली दुवै भाषामा स्वीकृत भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।पुलको नयाँ नामसँगै जिल्लामा पर्यटक भित्र्याउन सहयोग पुग्ने नगरपालिकाको विश्वास छ । पुलको नामकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु २५ हजार राशिको पुरस्कारसमेत घोषणा गरिएको नगर प्रमुख पौडेलले जानकारी दिए ।

पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरिएको थियो । उक्त पुलको नाम बानपा–५ मालिका निवासी निजामती सेवामा कार्यरत घनश्याम सापकोटाले गरेका हुन। कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो जिकिर गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ ।