मनकामना केबलकार आजदेखि सञ्चालनमा

भदौं २०, काठमाडौं –  गोरखाको सहिद लखन गाउँपालिकामा रहेको मनकामना केबलकार आज आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले जानकारी दिए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णय अनुसार केबलकार सञ्चालनमा आए पनि पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ। केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए। ‘भौतिक दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड सबैले अनिवार्यरुपमा पालना गर्नुपर्नेछ’, सेरचनले भने।
प्रालिले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबलकार सञ्चालन गर्दै आएको छ।

संक्रमणको जोखिम मध्यनजर गर्दै भक्तजनलाई बाहिरबाटै पूजाको व्यवस्था मिलाइएको मन्दिरका मूलपूजारी इनसान थापाले जानकारी दिए। डिसिसिएमसी गोरखाले गोरखामा निषेधाज्ञा पनि हटाएको छ।