चीनमा मातृमृत्यु दर उल्लेखनीयरुपमा घट्यो

साउन २८, काठमाडौँ – चीनमा मातृमृत्यु दर उल्लेखनीयरुपमा घटेको पाइएको छ । चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको छ ।

उक्त सरकारी तथ्याङ्कका अनुसार यहाँ सन् २००२ मा प्रतिएक लाख जीवित जन्ममा ४३.२ प्रतिशत मातृमृत्यु दर रहेकोमा सन् २०२० मा आएर १६.९ प्रतिशत मात्र देखिएको छ ।

मातृ मृत्यु प्रतिएक लाखमा मापन गरिन्छ । यहाँ सन् २००२ मा एक लाख आमाले बच्चा जन्माउँदा ४३.२ जना आमाको ज्यान जाने गरेको थियो ।

सो संख्यामा कमी आएर अहिले अर्थात् सन् २०२० मा बच्चा जन्माउने क्रममा अर्थात् प्रसुतिजन्य जटिलताका कारण हाल प्रतिएक लाख आमामा १६.९ जनाको मात्र ज्यान जाने गरेको छ ।

यस तथ्याङ्कलाई चीन सरकारले यहाँका आमाको स्वास्थ्यमा आएको एक उल्लेखनीय प्रगति भनी टिप्पणी गरेको छ ।

चीनको यो तथ्याङ्क सार्वजनिक भए लगत्तै विश्व स्वास्थ्य सङ्गठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने एक उदाहरणीय राष्ट्रका रुपमा चित्रण पनि गरेको छ ।

यसअघि पनि विश्व स्वास्थ्य संगठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा धेरै सुधार गरिरहेको राष्ट्रका रुपमा परिचित रहेको भनेको थियो ।