दार्चुला तुइन घटना प्रकरण -सात दिनपछि छानबिन समितिद्वारा घटनास्थल निरीक्षण

साउन २२, काठमाडौं – महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो ।
व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छानबिन समिति भारतीय एसएसबीसँगै घटनास्थल पुगेका हुन् । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेको थियो ।
घटनास्थल पुगेको समितिले तुइन बाँधिएको रूखको नापजाँच लिएको छ । यसअघि जिल्लाबाट खटिएको अनुसन्धान टोलीले दिएको विवरणअनुसार घटनास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताए ।
महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रूख छ, तर दुवैतर्फ तार छैन । रूखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरु बताउँछन् । महाकाली नदी वारिपारि झण्डै ४५ मिटर छ ।
छानबिन समिति घटनास्थल भएको ठाउँबाटै फर्किएको जोशीले बताउनुभयो । “भारतीय एसएसबीले सहजीकरण मात्रै गरिदिएको हो”, उहाँले भन्नुभयो, “त्योबाहेक अन्य विषयमा छलफल भएको छैन ।”
छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ भट्ट सदस्य छन् ।
यस्तै छानबिन टोलीसँगै सशस्त्र प्रहरी ४४ नं गण दार्चुलाका गणपति नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट पनि घटनास्थल पुगेका हुन्  । भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) कमान्डेन्ट महेन्द्रप्रताप सिंह नेतृत्वको टोली सहभागी थियो ।  छानबिन समितिले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजना बनाएको छ । नेपालतिरबाट पैदलै हिँडेर जान सम्भव छैन । समितिले हेलिकप्टरमार्फत व्यासको मालगाउँ जाने तयारी गरेको छ ।