कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद आज टुङ्ग्याउँदै

साउन १९, काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद आज टुङ्ग्याउँदैछ। पार्टीका शीर्ष नेताहरूले समझदारी कायम गरेर विवादलाई टुङ्ग्याउने भएका हुन्। साउन १४ गते बसेको पदाधिकारी बैठकले विवादलाई समझदारी कायम गरेर निरूपण गर्ने जिम्मा शीर्ष नेताहरूलाई दिएको थियो।

रसुवा, सिन्धुपाल्चोकसँगै धनुषा निर्वाचन क्षेत्र नम्बर ४, सर्लाही निर्वाचन क्षेत्र नम्बर २, बारा र सप्तरीमा क्रियाशील सदस्यताबारे विवाद छ। नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले यी स्थानहरूको विवाद निरूपण नगरी संशोधनसहित प्रतिवेदन बुझाइसकेको छ।

प्रतिवेदनमा नेता कल्याणकुमार गुरूङको ’नोट अफ डिसेन्ट’ छ। क्रियाशील सदस्यता टुंगिएपछि मात्रै कांग्रेसको निर्वाचन समितिले महाधिवेशनको प्रक्रियागत काम अगाडि बढाउने हुन्छ। महाधिवेशन आउन भने २९ दिन बाँकी छ। तर, निर्वाचन समितिले वडा तहदेखि निर्वाचन गर्न सकेको छैन।

कार्यतालिकाअनुसार १२ साउनदेखि वडा तह र १६ साउनदेखि पालिका तहको निर्वाचन गर्नुपर्नेमा दुवै तहको निर्वाचन भएन। जसको मूल कारण क्रियाशील सदस्यता नटुङ्गिनु नै हो।

यसले गर्दा तल्लो तहको निर्वाचन निर्धारित कार्यतालिकाअनुसार नभएपछि १६ भदौदेखि गर्ने भनिएको महाधिवेशन सर्ने निश्चित भएको छ।

विधानतः कांग्रेसको १४ औं महाधिवेशन २०७६ फागुनमा हुनुपर्ने हो। तर, भएन। त्यसपछि विशेष परिस्थितिमा एक वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानको आधारमा २०७७ फागुनमा हुनुपर्नेमा नभएसँगै कांग्रेस संविधानअनुसार ६ महिनासम्ममा महाधिवेशन गर्नुपर्ने अवस्थामा छ। त्यो भनेको आगामी भदौभित्र महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यतामा कांग्रेस छ।