दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रीको निर्देशन

साउन १६, काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

गृहमन्त्री खाणले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानविन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएका हुन् ।

स्थानीय प्रशासनका अनुसार दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएका हुन् । स्थानीयले भने तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा नदीमा खसेर वेपत्ता भएको आरोप लगाएका छन्।

अहिले घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली खोजतलासमा गएको र स्थानीयको आरोपअनुसार भारतीय एसएसबीसमेतलाई पत्राचार गरी के कस्तो भएको हो सत्यतथ्य पत्ता लगाइ जानकारी दिन भनिएको छ ।