नमोबुद्ध ११ को सेवा अब आफ्नै भवनबाट

साउन ५, काठमाडौँ – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ११ कुरुगाउँमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएपछि आफ्नै भवनबाट सेवा शुरु हुने भएको छ । चार वर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नमोबुद्ध–११ को वडा कार्यालय सोमबार नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले उद्घाटन गर्नुभएपछि आफ्नै सुविधासम्पन्न भवनमा सरेको हो ।

भवन बनेसँगै अब सेवाग्राहीले सहजरूपमा सेवा प्राप्त गर्नेछन् । वडा कार्यालय भवनसँगै कुरुगाउँ आधारभूत स्वास्थ्य केन्द्रको भवनसमेत निर्माण गरिएको छ । पक्की भवन निर्माण भएर सञ्चालनमा आएसँगै वडावासीलाई स्वास्थ्य सेवा प्रदान गर्न थप सहज भएको छ । भवन रु ५५ लाख लागतमा निर्माण व्यवसायीमार्फत निर्माण भएको हो । स्वास्थ्य केन्द्रको भवन रु ३३ लाख १० हजार तथा १५ प्रतिशत जनसहभागितासहित स्थानीय उपभोक्तामार्फत निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख तिमल्सिनाले भौतिक पूर्वाधारको काममा प्राथमिकताका साथ लागिपरेको बताए । सबै वडामा प्रशासनिक भवन तथा स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको र मुख्य सडक स्तरोन्नति तथा कालोपत्र गर्ने काम भएको उनको भनाइ छ । सबै वडाको केन्द्रसम्म पुग्ने सडकसमेत निर्माण भएको तिमल्सिनाले बताउनुभयो । नगरको ऐतिहासिक दाप्चा क्षेत्रको पुनःनिर्माणको काम अघि बढाउन लागिएको जानकारी दिँदै तिमल्सिनाले वडा नं ११ मा सडक, खानेपानी आदिको व्यवस्थापनमा विशेष जोड दिइएको उल्लेख गरे । नगरमा कृषि औद्योगिकीकरणमा पनि विशेष जोड दिइएको र सोहीअनुसारका नीति तथा कार्यक्रम तय गरेर कार्यान्वयनमा लगिएको उनले बताए । वडा नं ११ मै धुलिखेल अस्पतालसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र निर्माणका लागि कामसमेत शुरु गर्न लागिएको उहाँको भनाइ छ ।

नमोबुद्धले नगरवासीलाई सहजरूपमा सेवा प्रदान गर्नका लागि वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भवनलाई प्राथमिकतामा राखेर निर्माण गरेको थियो । सोहीअनुसार पहिलो चरणमा वडा नं ११ सहित वडा नं ३ र ६ को कार्यालय निर्माणको काम सम्पन्न गरिसकेको छ । दोस्रो चरणमा वडा नं २, ७, ८ र ९ को कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । यसै आर्थिक वर्षमा वडा नं १, ४ र ५ को कार्यालय निर्माणका लागि प्रक्रिया शुरु भइसकेको जनाएको छ । नगरपालिकाले नगरको प्रमुख प्रशासकीय भवनको पूर्णरूपमा निर्माणको कामसमेत सकिसकेको छ ।

कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरमा भौतिक संरचनाको विकास तीव्ररूपमा भएको बताउँदै त्यसको सही सदुपयोग गर्न सबै पक्षलाई आग्रह गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरवासीले सहजरूपमा सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले वडा भवन निर्माण साथै मोबाइल एप्लिकेसनमार्फत राजश्व भुक्तानीको व्यवस्थापन गरिएको बताए । वडा नं ११ का अध्यक्ष कृष्णबहादुर तामाङले दाप्चा सडकबाट वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नति गरिने बताए । वडावासीको साथ र सहयोगकै कारण वडा कार्यालय तथा स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको बताउँदै उहाँले स्थानीय तहबाट जनताले प्राप्त गर्ने सेवासुविधालाई सहज र सुलभ तरिकाबाट प्रदान गर्न थप मद्दत पुग्ने बताए ।