ताँजाकोटमा इन्टेरनेट सेवा अवरुद्ध

असार ३१, काठमाडौँ – मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । असार मसान्तको चापाचापको समयमा गाउँपालिकामा जोडेको वल्र्डलिङ्कको इन्टरनेटले काम नगरेपछि भुक्तानी दिने काम प्रभावित बनेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए । गाउँपालिकामा केही दिनयता नेटले काम नगरेपछि केही स्रेस्ता लिएर एक दिनको पैदलबाटो अदानचुलीको श्रीनगरमा आएर काम गर्नुपरेको गाउँपालिका स्रोतले जानकारी दिएको छ ।

नेट नचलेपछि ताँजकोटमा भएको ग्लोबल आइएमई बैंकले दिने सेवासमेत प्रभावित बनेको छ । सालतमामीको समयमा इन्टरनेटले काम नगरेपछि निकै गाह्रो भएको भन्दै बैंकका पव बुढाले अत्यावश्यक भुक्तानी र अन्य काम अदानचुली शाखाबाटै चलाउनुपरेको बताए । “हामीले नगरी नहुने भुक्तानी र अन्य काम अदानचुलीको शाखाबाटै चलाएका छौँ”, उनले भने, “अनलाइनबाट सबै काम गर्नुपर्नेमा नेट नै नभएपछि पछिल्लो समय गाउँपालिका र बैंकलाई काम गर्न निकै सकस भएको हो ।” ताँजकोटमा गएको तीन दिनदेखि इन्टरनेट आउने जाने भएकाले मर्मतका लागि मुगु गमगडीबाट खत्याडतर्फ हिँडेको वल्र्डलिङ्कका प्रतिनिधि प्रमोद कुमालले बताए ।