स्वास्थ्यचौकीको भवनभित्र छाता ओढ्नुपर्ने बाध्यता

असार ३०, म्याग्दी जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीस्थित स्वास्थ्यचौकीमा छाता ओढ्नुपर्ने बाध्यता छ । स्वास्थ्यचौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका हुन् । स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताए ।

‘आफ्नै भवन नभएको र स्वास्थ्यचौकी सञ्चालन भइरहेको आमा समूहको भवन मर्मत नहुँदा जीर्ण बनेर पानी चुहिन थालेको छ’ उनले भने बर्खाले पानी पर्दा भवनभित्रै छाता ओढेर सेवा दिने गरेका छौँ । ’भवन अभावमा करिब एक हजार घरधुरीले सेवा लिने स्वास्थ्यचौकीको कामकाज प्रभावित बनेको हो । जीर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ ।

स्वास्थ्यचौकी सञ्चालन भएको नमूना आमा समूहको भवन मर्मत अभावमा जीर्ण बनेको हो । छानोबाट पानी चुहिन्छ, प्रसूति गराउने कोठाको शय्यामा पानी चुहिने भएकाले टपेस राखिएको छ । सिङ्गो स्वास्थ्यचौकी दुईवटा कोठामा सीमित छ । ्

््एक कोठामा प्रशासन र औषधि भण्डारण कक्ष बनाइएको छ । बहिरङ्ग, सोधपुछ र प्रसूति कक्ष एउटै कोठामा सञ्चालन भएको छ । गोप्य कक्ष नहुँदा सेवाग्राहीले लाज मानेर आफ्ना समस्या खुलेर स्वास्थ्यकर्मीलाई बताउन सक्दैनन् । दैनिक १० जनाको हाराहारीमा सेवाग्राही आउने गर्छन् । स्वास्थ्यचौकीको भवन बनाउन जग्गा प्राप्त भए पनि बजेट अभावमा कार्यान्वयन हुनसकेको छैन । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष पदम पुनले भवन बनाउन नगरपालिकामार्फत प्रदेश र सङ्घीय सरकारमा प्रस्ताव गरिएको बताए ।

स्थानीयवासी पृथीलाल खत्रीको परिवारले आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । यसअघि तीन रोपनी जग्गा उपलब्ध गराएको खत्री परिवारले नयाँ मापदण्डपछि थप पाँच रोपनी उपलब्ध गराएको हो । नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले विस्तृत परियोजना प्रतिवेदन तयार पारेर साझेदारीमा स्वास्थ्यचौकी भवन बनाउन प्रदेश र सङ्घ सरकारका निकायमा प्रस्ताव गरिने बताए । रासस