अस्पतालका लागि जेनेरेटर सहयोग

असार ८, काठमाडौ – रोल्पा नगरपालिकाले जिल्ला अस्पताल रोल्पालाई एउटा जेनेरेटर सहयोग छ ।

विद्युत्को अभावमा जटिल प्रकारका शल्यक्रिया गर्न समस्या हुने गरेको प्राप्त सूचनाका आधारमा नगरपालिकाले एक सय केभीए क्षमताको एउटा जेनेरेटर उपलब्ध गराएको हो । वैकल्पिक विद्युतीय स्रोत नहुँदा अस्पतालका चिकित्सकले टर्चलाइट वालेर प्रसूतिको जटिल प्रकारका शल्यक्रिया गर्दै आएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको लमही वितरण केन्द्रअन्तर्गत झिम्रुक जलविद्युत्बाट उपलव्ध हुने विद्युत्कोे अनियमितताले अस्पतालको शल्यक्रियालगायत अन्य नियमित काममा समेत कठिनाई हुँदै आएको थियो । अस्पतालको विकास र सुदृढीकरणका लागि नगरपालिकाले विशेष ध्यान दिएको नगरप्रमुख पूर्ण केसीले जानकारी दिए । “अस्पतालाई सुधार गर्न विभिन्न पहल गरेका छौं”, उनले भने, “जनशक्तिको समस्या झैल्दै आएका अस्पताललाई नगरपालिकाले तीन जना स्वास्थ्यकर्मीसमेत उपलव्ध गराएको छ ।” विभिन्न स्वास्थ्य सामग्री खरिदका लागि पनि नगरपालिकाले अस्पताललाई सहयोग गर्दै आएको नगरप्रमुख केसीको भनाइ छ ।

“आन्तरिक श्रोत अत्यन्त न्यून रहेको अस्पताललाई नगरपालिकाले गरेको सहयोग अतुलनीय छ”, अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले भने, “विद्युत्को अभावमा शल्यक्रिया सेवा समेत रोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ”