नवलपुरको चौधरी उद्योगमा आगलागी

जेठ १९, काठमाडौ – बर्दघाट–सुस्तापूर्वको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीनवटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको   छ ।

आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । जिल्लाको देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा आगलागी भएको गिरीले  बताए । आगलागी नियन्त्रणका लागि चितवनको भरतपुरबाट गएको नेपाली सेना, कावासोती नगरपालिका र चितवनको खैरहनी नगरपालिकाको वारुणयन्त्रले प्रयास गरिरहेको गिरीले  बताए ।

बियर प्लान्टमा अहिले पनि आगो बलिरहेको छ । आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुग्नुभएको छ । आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।