‘खोइ मास्क’ अभियान !

वैशाख १७, काठमाडौ – जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिपायलले जिल्लामा ‘खोइ मास्क’ अभियान सञ्चालन गरिरहेको छ । जिल्लामा कोरोना सङ्क्रमण दर बढ्न थालेको तथा बिनामास्क यहाँका नागरिक बजार हिँडडुल गर्न थालेपछि उक्त अभियान सञ्चालन गरेको हो । कोभिड–१९ को सङ्क्रमण दोस्रो लहर फैलिइरहेको अवस्थामा आम नागरिकलाई सचेतना फैलाउन ट्राफिक प्रहरीले ‘खोइ मास्क’ अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक अशोक खड्काले बताए ।

पछिल्लो केही दिनयता ट्राफिक प्रहरीले मास्क नलगाएका सवारी चालक, यात्रामा सवार मानिस, बजारमा हिँडडुल गरिरहेका मानिसलाई लक्ष्य गरी ‘खोइ मास्क’ अभियान सञ्चालन गरिरहेको छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्तरूपमा सञ्चालन गरिरहेको सो अभियानअन्तर्गत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न परामर्श, प्लेकार्ड प्रदर्शन, माइकिङलगायत क्रियाकलापका माध्यमबाट सचेतना फैलाउने काम भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म यहाँका एक हजारभन्दा बढी नागरिकलाई कोरोनाबाट बच्न विभिन्न जानकारी दिइनुका साथै त्यत्तिकै सङ्ख्यामा मास्कसमेत वितरण गरिएको छ । जिल्लामा वैशाख ५ देखि १६ गतेसम्ममा कम्तीमा पनि १०० जनामा कोरोना सङ्क्रमण देखापरेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धबबहादुर ठगुन्नाले जानकारी दिए ।