समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ : मुख्यमन्त्री भट्ट

वैशाख १७, काठमाडौ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक तथा सामाजिक रुपान्तरणमा श्रमिकको क्षमता, योग्यता र सीपको उचित सदुपयोग गरी प्रदेशको तीव्र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले ‘समृद्ध सुदूरपश्चिम निर्माण’ को लक्ष्य पूरा गर्ने आधार पनि श्रमिक वर्ग भएकाले श्रम र श्रमिक वर्गप्रति सम्मान गर्नुपर्ने बताए ।

दिवसका अवसरमा मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहेका श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरे । कोरानो भाइरसको महामारी कारणले कठिन परिस्थिति सिर्जना भएकाले स्वदेश तथा विदेशमा कामको सिलसिलामा रहेका सबैमा यस महामारीबाट बच्न सरकारद्वारा जारी स्वास्थ्य मापदण्ड पालना गर्न जारी सन्देशमा अनुरोध गरिएको छ । उनले श्रमिक दिवसका अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे ।