भारतमा कोरोना संक्रमण :नवौं दिन सम्म ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि

बैशाख १७,नयाँदिल्ली – भारत कोरोना संक्रमणको अभूतपूर्व संकटबाट गुज्रिएको छ । यहाँ दैनिक लाखौँको संख्यामा कोरोना संक्रमित थपिरहेका छन् ।

विगत एकसाता यता भारतमा दैनिक ३ लाख भन्दा बढी कोरोना संक्रमित थपिरहेका छन् ।

भारतमा एकैदिन ३ लाख ८६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार ३ लाख ८६ हजार ६९३ जना संक्रमित थपिएका थिए । बुधबारको भन्दा ७ हजारले बढी हो, बिहीबारको भन्दा।

भारतमा एकै दिन ३ लाखभन्दा बढीमा संक्रमण देखिएको यो लगातार नवौं दिन हो । अप्रिल २१ मा पहिलो पटक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

यहाँ कुल संक्रमितको संख्या १ करोड ८७ लाख नाघिसकेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाकै कारण ३ हजार ५०२ जनाको मृत्यु भएको छ । बुधबार यो संख्या ३ हजार ६४५ थियो ।

एकै दिन ३ हजारभन्दा बढीको मृत्यु भएको यो लगातार तेस्रो दिन हो । गत अप्रिल २७ मा पहिलो पटक ३ हजारभन्दा बढीको एकैदिन मृत्यु भएको थियो ।

कोरोनाकै कारण हालसम्म २ लाख ८ हजार ३३० जनाको मृत्यु भइसकेको छ ।