पलाञ्चोक भगवती मन्दिर बन्द,पूजा र दर्शन गर्न रोक

बैशाख १४,बनेपा – बढ्दो कोरोना सङ्क्रमणका बीच जोखिम कम गर्न काभ्रेपलाञ्चोकस्थित पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ ।

 

पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अन्य पूजापाठलगायतका क्रियाकलाप बन्द गरेको हो ।

 

नगर प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेको र मठमन्दिरमा दर्शनार्थीको भीडले सङ्क्रमणको जोखिम अझै बढ्ने सम्भावना भएकाले नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको वैशाख १० मा बसेको बैठकको निर्णयानुसार सर्वसाधारणलाई दर्शन र पूजापाठ गर्न बन्द गरिएको बताए ।

मन्दिरमा नियमित नित्य पूजा भने निरन्तर चल्ने उनले जनाए । नगरपालिकाले नगरभित्रका अन्य मठमन्दिरमा समेत सर्वसाधारणलाई अर्को सूचना नभएसम्मका लागि पूजा र दर्शन गर्न बन्द गरेको छ ।
रासस