सभ्य र समृद्ध समाज निर्माणमा अग्रसर हुन महावीर जयन्तीले सबैलाई प्रेरणा प्रदान गरोस्-राष्ट्रपति

बैशाख १२, काठमाडौ -राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवत्र्तक महावीरको दुई हजार ६२०औँ जन्मजयन्तीका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख‚ शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन ।

महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य (चोरी नगर्ने), ब्रह्मचर्य र अपरिग्रह (सङ्ग्रह नगर्ने) देखाउनुभएको जनाउँदै राष्ट्रपतिले अहिंसा नै मानवको साँचो धर्म हो भन्ने र सानोभन्दा सानो जीवको समेत हत्या गर्नुहुँदैन भन्ने उहाँको सन्देशबाट परिवार, समाज, राष्ट्र र विश्वमा नै द्वन्द्व र विग्रहको अन्त्य गरी शान्ति स्थापनामा मानव जातिलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी हुन ।

धार्मिक, सांस्कृतिक, भाषिक एवं भौगोलिक विविधतायुक्त इन्द्रेणीरूपी नेपाली समाजमा यस्ता पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान पु¥याउ विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सामाजिक न्यायमा आधारित सभ्य र समृद्ध समाज निर्माणका बाटामा अग्रसर हुन महावीर जयन्तीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन ।

अहिंसा, त्याग एवं तपस्याको सन्देश दिने जैन धर्मका संस्थापक एवं धार्मिक गुरु वर्धमान महावीरको जन्म ५९९ इसापूर्वमा भएको थियो । प्रत्येक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभरि छरिएर रहेका जैन धर्मावलम्बीले महावीर जयन्ती मनाउने गर्छन् । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत ॐकार परिवारका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।