बाँकेमा २४ घण्टामा थप आठ जनाको मृत्यु

बैशाख १२,काठमाडौं – कोरोनाको हटस्पट बनेको बाँकेमा कोरोना संक्रमणको अवस्था थप भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा बाँकेमा मात्रै ८ जनाको मृत्यु भएको छ ।

 

अस्पतालम उपचाररत पाँच महिला र तीन पुरुषको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

आइतबार बिहान कोहलपुर नगरपालिका–१० का ३६ वर्षीय पुरुषको मृत्यु भएको छ । कोहलपुर शिक्षण अस्पतालमा उपचार गराइरहेका संक्रमितको बिहान साढे दुई बजे मृत्यु भएको हो ।

बाँकेमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एकसय ८० पुगेको छ । जसमा ८० जना बाँकेकै हुन् भने बाँकी एकसय जना जिल्ला बाहिरबाट बाँकेमा उपचारका लागि आएकाहरु हुन् ।

हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष रहेका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ ।

बाँकेमा हाल दुई हजार १२८ सक्रिय सङ्क्रमितमध्ये सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। छयासी सिकिस्त छन् भने १९८ को अवस्था सामान्य छ । तीमध्ये ८३ महिला र ९८ पुरुष गरी १८१ जनाको भेरी अस्पतालको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ ।

यसैगरी २४ महिला र ३१ पुरुष गरी ५५ जनाको शिक्षण अस्पताल कोहलपुर, छ महिला ३३ पुरुष गरी ३९ जनाको ह्वाइटहाउस आइसोलेसन र नौ पुरुषको कोहलपुर नगरपालिकाको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ ।

बाँकेमा एक हजार ९८० होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति वलीले जानकारी दिए। उनका अनुसार बाहिरी जिल्लाबाट आएका १३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस