बाँके कोरोना हटस्पट : थप ३ जना कोरोना संक्रमितको मृत्यु

बैशाख १०, बाँके – बाँके दिनप्रतिदिन कोरोनाको हट स्पट बनिरहेको छ । यहाँको नेपालगन्ज उप-महानगरपालिकामा एक साताको लागि लकडाउन गरिएको छ ।

बाँकेमा दैनिक सयौको संख्यामा कोरोना संक्रमित बढिरहेका छन् । मृत्यु हुनेको संख्यामा पनि दैनिक बढिरहेको छ । बाँकेमा आज पनि ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेमा उपचाररत एक जना जिल्ला बाहिरका र २ जना जिल्लाभित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

२ जनाको विहीबार राती र १ जनाको आज विहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड-३ सल्ल्यानका ५६ वर्षीय वीरवहादुर नेपाली, जानकी-१ की ७१ वर्षीया महिला सुमन पाठक र बैजनाथ-६ का २८ वर्षीय मानबहादुर पुनको निधन भएको हो । यो सँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।