स्वास्थ्य, सुशासन र पारदर्शीमा हेलम्बु अग्रणी

वैशाख ९, काठमाडौँ – वित्तीय अनुशासन र पूँजीगत खर्चबारे अनेकौँ टीकाटिप्पणी र आलोचना भइरहेका बेला जनतालाई घरदैलोमै सरकारको अनुभूति दिलाउन र खर्चमा पारदर्शिता कायम गर्ने सन्दर्भमा हेलम्बु गाँउपालिका अग्रणी देखिएको छ ।

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकतमा राखी जनताले प्रत्यक्ष लाभ लिन सक्ने कार्यक्रम अघि बढाएको उक्त गाँउपालिकाले खाद्यान्न, तरकारी, फलफूल र माछा मासुमा केही वर्षभित्रै आत्मनिर्भर हुने योजना अघि सारेको छ । मुलुकमै कुनै बेला स्याउ उत्पादनमा ख्याति कमाएको हेलम्बु क्षेत्र पछिल्लो समय ट्राउट माछा उत्पादनको ‘हव’ बन्दै गएको गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । करिब २० हजार जनसङ्ख्या रहेको हेलम्बु गाउँपालिका २७४.३६ वर्ग किलोमिटरमा फैलिएको छ ।

उक्त गाउँपालिकामा रहेको ११ रेन्बो ट्राउट फार्मबाट वार्षिक ९० देखि १०० टन माछा उत्पादन हुँदैआएको भण्डारी रेन्बो ट्राउट रिसर्च सेन्टरका सञ्चालक उत्तममणि भण्डारी बताउँछन् । माछाका लागि गाउँपालिकाले ह्याचरी व्यवस्थापनमा सहयोग पु¥याएको छ । आफनै गाउँमा परिवार र साथीभाइसँगै रहेर व्यवसाय सञ्चालन गर्ने अवसर जुटेकामा खुशी नहुने प्रश्नै नरहेको उनको भनाइ छ । गाउँपालिकाले आफ्नो पुरानो पहिचान स्थापित गर्न उन्नत जातका स्याउका बेर्ना लगाउने कार्यलाई पछिल्ला वर्षमा तीव्रता प्रदान गरेको छ ।

अध्यक्ष शेर्पाका अनुसार अघिल्लो वर्ष मुस्ताङबाट दुई हजारको सङ्ख्यामा उन्नत जातको बेर्ना ल्याएर स्याउ प्रवद्र्धन कार्यक्रम शुरु गरिएको छ । लगाइएका बिरुवाबाट उत्पादित फलको गुणस्तरका आधारमा क्षेत्र छनोट गरी नमूना खेती कार्यक्रम सञ्चालन गर्ने पालिकाको सोच छ । मुलुकमा राजनीतिक दलले जति नै विकास र समृद्धिको नारा दिए पनि काठमाडौँको तरकारी मात्र होइन, काश्मीरको स्याउसमेत हेलम्बु पुग्न थालेपछि अध्यक्ष शेर्पाले स्थानीयवासीलाई आत्मनिर्भर तुल्याउन खाद्यान्न, तरकारी र फलफूल प्रवद्र्धनका विविध कार्यक्रम अघि बढाइएको जानकारी दिए । केही वर्षमै हेलम्बुका पहिचान विभिन्न उत्पादन काठमाडौँका बजारमा पु¥याइने अठोट गरिएको छ ।

किसानलाई मलखाद र बीउबिजनमा सहयोग अनुदान उपलब्ध गराउने क्रममा गाउँपालिकाले धुलिखेलकै मूल्यमा हेलम्बुका प्रत्येक वडामा रासायनिक मल उपलब्ध गराइरहेको स्थानीय कृषक नारायण गिरीले जानकारी दिए । ढुवानीबापतको खर्च गाउँपालिकाले व्यहोरिरहेको छ । किसान र व्यवसायीलाई मात्र होइन, विद्यार्थी, शिक्षक र अरु राष्ट्रसेवक कर्मचारीलाई पनि हेलम्बु गाउँपालिकाले प्रोत्साहन गरिरहेको छ । प्रत्येक विद्यालयले आवश्यक जैविक आवश्यक तरकारी आफैँ उत्पादन गर्ने नीति अघि बढाएका छन् । त्यसका लागि विद्यार्थीलाई प्रोत्साहनको कार्यक्रमसमेत अघि सारिएको छ ।

माथिल्लो भागमा हेल्मो (शेर्र्पा) त्यसपछि क्रमशः तामाङ र बाहुन/क्षेत्रीको बसोबास रहेको हेलम्बु गाउँपालिकाले कोरोनाका कारण औषधि व्यवस्थापनमा समस्या झेलिरहेका नियमित औषधि आवश्यक पर्ने ज्येष्ठ नागरिक तथा अन्य रोगीलाई निःशुल्क औषधि उपलब्ध गराएर ठूलो गुन लगाइरहेको छ । गाउँपालिकाभित्रका कुनै पनि गर्भवती महिलालाई स्वास्थ्यचौकीमा आएर सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले घरसम्म ल्याउन र पु¥याउन निःशुल्क एम्बुलेन्सको व्यवस्थाका साथै अस्पतालमा रहँदा कुरुवालाई समेत निःशुल्क बास र भोजनको व्यवस्था मिलाएको छ ।