शक्तिपीठमा दूरी कायमसहित दर्शन गराइँदै

बैशाख ७, काठमाडौं –  चैत्र शुक्ल अष्टमीमा मनाइने चैते दशैँका अवसरमा उपत्यकाका शक्तिपीठमा कोरोना जोखिमबाट बच्न भौतिक दूरी कायम राखी भक्तजनलाई दर्शन गराइएको छ । कोरोना जोखिम नभएको बेलाजस्तो भक्तजन मन्दिरमा गएका छैनन् । गएका भक्तजन पनि मास्क लगाइ भौतिक दूरी कायम गरेर दर्शन गर्ने बित्तिकै फर्कने गरेका छन् ।

उपत्यकाको प्रमुख शक्तिपीठ गुह्येश्वरीमा दुई वर्षअघिको चैते दशैँमा जस्तो भक्तजनको भीड नलागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गीले जानकारी दिए ।गत वर्षको चैते दशैँमा भने कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले भक्तजनलाई दर्शन गर्न दिइएको थिएन । नित्यपूजा, बलिपूजा, कालरात्रिपूजालगायत विधि भने गत वर्ष पनि पूरा गरिएको थियो ।

आएका भक्तजनलाई दूरी कायम गरी सहजरुपमा दर्शन गराएर फर्काइएको उनले बताए । चैत्र शुक्ल अष्टमीका अवसरमा गरिने पूजा विधि भने मन्दिरमा पूरा गरिएको छ । बेलुकी गुठी संस्थानले कालरात्रि पूजासहित पञ्चबलि दिएर तान्त्रिक विधि पूरा गर्ने समितिले जनाइएको छ । यसको व्यवस्थापन संस्थानले नै गर्ने गरेको छ ।

उपत्यकाको पनि मुख्य शहर बाहिरका ग्रामीण भेगमा रहेका शक्तिपीठमा भने बढी भक्तजन दर्शनका लागि गएका छन् । गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिृय निकुञ्ज क्षेत्रमा रहेको सुन्दरीमाई मन्दिरमा भने विगत वर्षमा जस्तै भक्तजन गएका छन् । अलि टाढाबाट आउने भक्तजन नआएपनि नजिकका प्राय : भक्तजन चैत्र शुक्ल पक्षको नवरात्रमा मन्दिर दर्शन गर्न आएको मन्दिर व्यवस्थापन समितिका सदस्य सुशील सिम्खडाले जानकारी दिए ।

रमणीय स्थलमा भएको मन्दिर भएकाले पनि यहाँ भक्तजनको भीड लाग्ने गरेको छ । सरकारले सोमबार मन्दिरलगायत सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भीडभाड नगर्ने गरी मापदण्ड जारी गरेको छ ।