तनहुँ उवासङ्घको अध्यक्षमा श्रेष्ठ विजयी

वैशाख ५, काठमाडौँ – तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ भारी मतले निर्वाचित भएका छन्। जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ छ मत ल्याएर विजयी भएका हुम् । उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरेका थिए । श्रेष्ठ १४१ बढी मत ल्याएर विजयी भएका हुन् । सो अवसरमा २३ मत बदर भएको थियो ।

अध्यक्ष पदका मिश्र र श्रेष्ठ दुई जनाको उम्मेदवारी रहेपछि निर्वाचन प्रक्रियामा गएको हो । अर्का उम्मेदवार अर्जुन अधिकारीले भने यसअघि नै आफ्नो उम्मेदवारी फिर्ता गरिसकेका थिए । सबैभन्दा बढी मत रहेको दमौलीमा एक हजार ८५, आँबुखैरेनी ३४७, डुम्रे २६१, थर्पु १२१, सत्रसय ४७, विमलनगर ४१ र बन्दीपुर ४८ सदस्य सङ्ख्या रहेको सङ्घका कार्यकारी सचिव सीता गुरुङले जानकारी दिए । सङ्घको अध्यक्ष पद दाबी गर्दै लोकतान्त्रिक खेमाका श्रेष्ठ र बैकुण्ठनाथ मिश्र चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको थियो । सङ्घको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सङ्घको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन भएका छन् ।