कोरोना संक्रमण नियन्त्रणका लागि बङ्लादेशमा एकहप्ते लकडाउनको घोषणा

चैत २३, एजेन्सी –कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ।

स्थानीय समय अनुसार अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन्।

लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए। अत्यावश्यक लगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन्।

बङ्लादेशमा अहिलेसम्म ६ लाख ३० हजार २७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। तीमध्ये पाँच हजार ६८३ जना पछिल्लो एकैदिनमा सङ्क्रमित भएका हुन्। पछिल्लो २४ घण्टामा बङ्लादेशमा कोरोनाकै कारण मात्रै ५८ जनाको मृत्यु भएको छ। योसँगै बङ्लादेशमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या नौ हजार २१३ पुगेको अधिकारीहरुले जनाएका छन्।

स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो एक दिनमा २४ हजार ५४८ जनाको कोरोना परीक्षण गरेको जनाएको छ।रासस