पीएसजीलाई पराजित गर्दै लिल शीर्षस्थानमा

चैत २२, एजेन्सी –  फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । शनिबार राति भएको खेलमा पीएसजी लिलसँग १–० गोल अन्तरले पराजित भएको हो । पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे ।

डेविडले २०औं मिनेटमा जोनाथन कोनेको पासमा गोल गरेका थिए । तनावपुर्ण बनेको खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।

पीएसजीका नेयमार दोहोरो पहेंलो कार्ड खादै मैदानबाट बाहिरिंदा लिलका थियागो जालो पनि पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । यो हारपछि शीर्षस्थान गुमाएको पीएसजी ३१ खेलबाट ६३ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । पीएसजीलाई हराएको लिल ६६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

यस जितसँगै लिलले लिगमा ३ अंकको अग्रता बनाएको छ । लिलले ३१ खेलमा ६६ अंक जोडेको छ । दोस्रो स्थानको पीएसजीले ३१ खेलमा ६३ अंक जोडेको छ ।