तनहुँको सेवरमा औषधि उत्पादन गरिँदै, कोभिडले रेकिएको काम शुरु

फागुन २०, काठमाडौ – तनहुँ जिल्लाको व्यासनगरपालिका–१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ । कोभिड–१९ का कारण निर्माण कार्यमा प्रभाव परेपछि आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको हो ।

करिब ४५ रोपनी क्षेत्रफलमध्ये बाह्र रोपनीमा भवन निर्माण गरिएको फर्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले जानकारी दिए। भवनको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । उनले भने, “भवन निर्माणपश्चात् करिब नौ महिनापछि औषधि बजारमा पुर्याउने योजना रहेको छ ।” करिब रु ५० करोड बराबरको लगानीमा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ । उनले भने, “भुइँ तलामा औषधि उत्पादन गरिन्छ भने पहिलो तलामा ल्याब, औषधि अनुसन्धान केन्द्रलगायतका रहने छन् ।” उनका अनुसार भुइँ तला २० हजार वर्गफिट र पहिलो तला ११ हजार वर्गफिटको हुनेछ ।

“शुरुको वर्षमा मधुमेह, मुटु, नसासम्बन्धीका ट्याबलेट, क्याप्सुल र मलमजन्य ४० देखि ५० किसिमका औषधि उत्पादन गर्ने लक्ष्य रहेको छ”, उनले भने । औषधि विज्ञद्वारा औषधि उत्पादन क्षेत्रमा लगानी गरिएकाले गुणस्तर किसिमको औषधि उत्पादन हुनुका साथै सरल, सहज र सुपथ मूल्यमा बजारमा पुर्याइने उनको भनाइ थियो । नेपालमा उत्पादन नभएका नयाँनयाँ किसिमका औषधि उत्पादन गर्ने योजना कम्पनीको रहेको छ । उद्योगमा औषधि उत्पादन कार्य शुरु हुन थालेपछि बजार प्रतिनिधिसहित १०० को हाराहारीमा मानिसलाई रोजगारी दिन सकिने सो कम्पनीले जनाएको छ ।