यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म

शुभाकर विश्वकर्मा


बर्दिया –अचेल जो कोहिलाई बर्दिया भन्ने वित्तिकै बाघको याद आउँछ । ‘बाघको जिल्ला’ भनेर समेत चिनिने बर्दियामा बाघको त्रास छ । पुस १८ गते मोटरसाइकलमा यात्रा गरिरहेकी महिलालाई बीच राजमार्ग मै झम्टिएर मारेपछि त्यहाँ निकै सर्तकर्ता बढाइएको छ । बर्दिया राष्टिय निकुञ्ज क्षेत्रमा राती यात्रा प्रतिबन्द लगाइएको छ । हरेक दिन जस्तो बाघ सडकमा घण्टौँसम्म बस्ने गरेको छ । यस्तो अवस्थामा कर्णाली चिसापानी, बर्दिया राष्ट्रिय निकुञ्जदेखि ठाकुरद्धारासम्म भ्रमणको तयारी भएदेखि एक मनमा उत्सुकता र अर्को मनमा भयले राज गरिरहेको थियो । त्यो शनिबार आएरै छोड्यो । यसअघि धनगढी जानेबेलामा गाडिमा कर्णाली चिसापानी देख्न अवसर पाएको थिए । यसपटक भने स्थलगत रुपमै भ्रमण गर्ने अवसर मिलेको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज र प्रसिद्ध धार्मिक स्थल ठाकुरद्धारा जाने अवसर भने गुमाउन पनि चाहिन ।
कर्णाली पुल क्षेत्रमा के कुरा विशेष होलान् ? ठाकुरद्धारा कस्तो होला ? भन्ने दुविधाका बीचमा बर्दिया राष्ट्रिय निकुञ्ज पनि घुम्न पाइने अवसरले खुसी थिएँ भित्राभित्रै । यात्रा गाडिको थियो । त्यहाँका नयाँ कुराहरुको बारेमा जानकारी लिनुपर्छ भनेर मनमनै धेरै कुरा खेलिरहे । टिम जम्बो थियो हाम्रो,३० सदस्यीय । साथै समावेशी पनि । हाम्रो टिममा पाँच वर्षे बालकदेखि ९० वर्षीय बृद्धसम्म थिए । धार्मिक हिसाबमा हिन्दु र मुस्लिम । पेसागत रुपमा सामाजिक अभियान्ता, विशेष क्षमता भएका सहित पत्रकारसम्म । एक हिसाबले त्यो भ्रमण एतिहासिक थियो । त्यो अभूतपूर्व अवसर जुराएको थियो, समाज सेवा संस्था नेपालले । हाम्रो टिम विहान सात बजे गाडिमा भ्रमणमा निस्कियो ।

कर्णाली पुल–चिसापानी

कर्णाली पुल नेपालको सबैभन्दा लामो पुल मध्येको एक हो, जुन कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ। यो पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो । जसले नेपालको सुदुरपश्चिम प्रदेशलाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। यसको निर्माण सन् १९९३ मा पूरा भएको हो। यो तार पुल हो जसको बीचमा ठूलो खम्बा छ र त्यसमा स्टीलका तारहरू बाँधेर ट्रस  लाई अड्याइएको छ । यो ५०० मिटर लामो छ । यसको चौडाइ १० मिटर रहेको छ । यो पुल १९९४ मा खोलिएको हो । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो । कर्णाली पुल पुग्न बाँकेको कोहलपुरदेखि ६७ किलोमिटर यात्रा गर्नुपर्छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्टिय निकुञ्ज हुँदै जंगलको सफर गर्नुपर्छ यहाँ पुग्न । पर्यटकीय दृष्टिले मध्ये तथा पश्चिम क्षेत्रको उत्कृष्ठ गन्तव्यको रुपमा रहेको कर्णाली पुल निकै चर्चित क्षेत्र हो । यो बर्दिया र कैलालीको सीमा क्षेत्रमा पर्छ । लम्कीचुहा –३ मा अवस्थित कर्णाली पुल सुदूरपश्चिम र लुम्बिनी प्रदेश सीमा क्षेत्र समेत हो । यो क्षेत्र माछाका लागि परिचित छ । यहाँका असला, गर्दि र क्लोज सहित करिब आधा दर्जन बढी मात्राको अध्यधिक बिक्रि वितरण हुने गर्छ । यहाँ माछा नबेच्ने व्यापारी बिरलै हुन्छन् । सवारी तथा फुटपातमा माछा बेच्नेहरुको घुइँचो लाग्ने गर्दछ । यहाँ हरेक कोही व्यक्ति माछा खाल र कर्णाली पुलमा फोटो खिच्नको लागि पुग्छन् । हामीले पनि कर्णाली पुल क्षेत्रमा फोटो खिच्यौ । माछा खायौँ । त्यहाँका स्थानीयहरुका अनुसार अन्य भन्दा शनिबार चिसापानी क्षेत्रमा मानिसहरुको निकै भीड लाग्ने गरेको छ । शनिबार पनि त्यहाँ म्युजिक भिडियो सुट गर्नेदेखि टिकटक भिडियो र सेल्फी खिच्ने सम्म भेटिए। के बृद्धा के तरुनी र के यूवा कर्णाली पुलदेखि सुन्दर पहाडि जंगल क्षेत्र र लामो कर्णाली नदिलाई ब्यागग्राउण्ड बनाएन टिकटक र भिडियो बनाइरहेका थिए । त्यहाँ भेटिएका नेपालगञ्जका रोशन साहनी परिवार सहित त्यहाँ गएका थिए । उनी त्यहाँ पहिलोपटक पुगेका थिए । कामको शिलशिलामा संघीय राजधानी तिरै बस्ने उनी घरको आएको अवसर पारेर शनिबार घुम्नको लागि कर्णाली पुगेका थिए । उनी आफूहरु घुम्न, टिकटक बनाउन र माछा खानको लागि आएको पनि बताए । यहाँ उनी जस्तै सयौ मानिसहरु दैनिक आउने गर्दछन् । कर्णाली पुलको एक भाग खम्बा ३२५ मिटर छ भने अर्को भाग तिर १७५ मिटर छ यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको कर्णाली पुल निकै आकर्षक समेत छ । त्यो कुनैपनि व्यक्ति हुदैन होला त्यहाँ पुगेर एउटा फोटो खिचाएर नफर्किएको ।त्यहाँ सुविधा सम्पन्न होटल, होमस्टे र अन्य व्यवसाय समेत फस्टाउँदो छ । यस्तै पुल नजिक राजमार्गको छेउछाउमा सामान बेचेर जिविकोपार्जन गर्ने समेत धेरै छन् । हामीले पनि १० मिनेट फोटो खिच्यौ टिकटक बनायौँ ।

बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन

कर्णाली पुलबाट हामी सिधै बर्दिया राष्टिय निकुञ्ज अवलोकनका लागि हिड्यो । जुन कर्णाली पुलदेखि पूर्वतिर तराई प्रदेशमा अवस्थित छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ,जुन पुर्व–पश्चिम राजमार्गको अम्रेनीबाट दक्षिण तर्फ बाटो छुट्टिएको छ । कर्णाली पुलबाट गाडिमा आधा घण्टाको यात्रामा यहाँ पुगिन्छ । वि.स. २०२५ सालमा निकुञ्ज घोषण गरिएको यसले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। निकुञ्ज अवलोकनको लागि पछिल्लो समय मानिसहरुको भीड लाग्न थालेको छ । कोरोना कहरका कारण लामो समय लकडाउन भएको बेला अवलोकन प्रवेश निषेध गरिएको थियो । निकुञ्ज प्रशासनले त्यहाँ पछिल्ला दुईमहिना यता भने मानिसहरुको भीड लाग्न थालेको बतायो । त्यहाँ आन्तरिक पर्यटकहरु प्राय जंगली जनावरहरुको अवलोकनको लागि त्यहाँ पुग्ने गर्दछन् । हाम्रो अवलोकन भ्रमणको उद्देश्य नि त्यहिँ थियो । त्यहाँ पुगेपछि मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अन्तर्गत विधिन्न सांस्कृतिक क्षेत्र, वन्यजन्तु उद्दारमा केन्द्रमा विभिन्न वन्यजन्तु, गैँडा अवलोकन, हात्ती चढ्ने ठाउँ र गोही प्रचनन केन्द्रमा विभिन्न वन्यजन्तुहरुको अवलोकन गर्न पाइन्छ । हात्ती सफारीको समेत सुविधा छ । यद्यपी अहिले भने कोरोना कहरका कारण बन्द गरिएको छ । अहिले हात्तीसँग अलि परबाट फोटो खिच्न मात्रै दिइन्छ । मानिसबाट कोरोना संक्रमण हुन सक्ने डरका कारण सफारी रोकिएको छ । केही महिनामा सफारी खुल्ने निकुञ्ज स्रोतले बतायो । त्यहाँ पुगेपछि गैडा, कछुवा, गोही हात्ती र बाघको समेत सजिलै अवलोकन गर्न सकिन्छ । सर्वसुलभ रुपमा पाइने बाँदर यहाँ पुग्ने आन्तरिक पर्यटकका लागि मनोरञ्जनका माध्यम हुन् । भ्रमण र अवलोकनका लागि मानिसहरुका खानेकुरा खाइदिने देखि सवारी साधनमा यत्रतत्र झुण्डिने बाँदरहरुले त्यहाँको यात्रालाई थप रोमाञ्चित बनाउँछन् ।

साँझपख ठाकुरद्धारा मन्दिरमा

कर्णाली पुल देखि बर्दिया राष्ट्रिय निकुञ्ज सम्मको यात्रा गर्दा समय घर्किदै थियो । हामी साँझतिर बर्दियाको ठाकुरबाबा नगरपालिमा रहेको प्रसिद्ध ठाकुरबाबा मन्दिर दर्जनका लागि गयौ । यो बर्दियाको जिल्लाको सबै भन्दा ठूलो र प्रसिद्ध धार्मिक स्थल हो । यहाँ पनि रहेक दिन आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमणका लागि आउने गर्दछन् । मन्दिर कै अगाडि रहेको ‘बाघ चोक’,ठाकुरबाबाको दर्जन,त्यहाँ रहेको ऐतिहासिक तथा पुरातान्विक मूर्तिहरुको अवलोकन र रमणीय तथा शान्त वातारण मुख्य आकर्षण हुन् । पर्यटकीय दृष्टिले यी गन्तव्यहरुको भ्रमण गर्नको लागि स्थानीय सरकारले व्यापक रुपमा पर्यटन प्रवद्र्धन गर्न आवश्यक छ । साँझ सात वजे नै बाँके आइपुग्यौ ।