‘धुआ’ र ‘बिजली’ ले वन्यजन्तुको उपद्रोबाट राहत

फागुन ५, काठमाडौँ – खेतबारीका कुनाकुनामा बिजुली (स्थानीय जनबोलीमा बिजली) बालेर ठाउँठाउँमा ‘धुआ’ ( बुख्याचा, जुलुङ्गो ) ठड्याइएपछि महोत्तरीका किसानले वन्यजन्तुको उपद्रोबाट राहत महसुस गरेका छन् । बस्ती÷बस्ती पसेर बालीनाली सखाप पार्ने बँदेल, दुम्सी, नीलगाई र बाँदरसहितका वन्यजन्तुबाट वाक्कदिक्क भएका किसानले खेतबारीका सुरसुरमा ‘बिजली’ बालेर ‘धुआ’ ठड्याएपछि राहत भएको बताएका हुन् । आफ्नै जुक्ति र बुद्धिले गरिएको कामबाट बाली बच्ने र वन्यजन्तुलाई पनि चोट नलाग्ने भएपछि किसान मक्ख छन् ।

“आँखा झिमिक्क गर्न पाइन्नथ्यो, जङ्गली जन्तुले बाली सखाप पार्थे”, खासमा बँदेलले गर्ने क्षतिबाट वाक्कदिक्क भएका बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान महेन्द्र महतोले भने, “यसपालि हिउँदमा चाहिँ तरकारी बारीमा तीन/चार ठाउँ बिजली बालेर धुआ ठड्याएपछि अलि राहत भएको छ । वन्यजन्तुले बाली खाएको देखेपछि लघार्दा कैयौँ बस्तीमा नीलगाई मारिएका र बँदेललाई पासो थापेर मार्ने गरेका घटना पनि अब कम हुने किसानको विश्वास छ ।

पछिल्ला केही वर्षयता महोत्तरीमा वन क्षेत्रबाट जिल्लाको भारतीय सीमावर्ती भेगसम्म नीलगाई र बँदेल बस्ती/बस्ती पसेर बालीनाली नोक्सान गरेपछि किसान आहत हुँदै आएका छन् । दुम्सी र बाँदरचाहिँ वन क्षेत्र नजिकका बस्तीमा मात्र पसे पनि बँदेल र नीलगाई सुदूर दक्षिणी भेगसम्म देखिएका छन् । दिनभरि घारीतिर लुकेर मध्यरातपछि तरकारी बाली, गहुँ, नयाँ उखुका हुर्कँदै गरेका बोट र केराका थामसमेत उखेल्ने बँदेलले हैरान नै पारेका बेला ‘धुआ’ र ‘बिजली’ ले आपूmहरुलाई राहत दिएको किसानको भनाइ छ ।

“नजिकै बिजुलीको बल्ब बलेको हुन्छ, अनि हातमा लौरो लिएको धुआ ठडिएको देखेपछि मान्छे ठानेर बँदेल र नीलगाई हच्कँदारहेछन्”, बर्दिवास–६ मनहरिपुरका तरकारी किसान विन्देश्वर यादवले सन्तोषको सास फेर्दै भने, “उज्यालो बत्तीमा जङ्गली जन्तु हिँडेको पनि नजिकैबाट देखिने भयो, हल्लीखल्ली गरेपछि भाग्ने भएका हुँदा अहिले क्षति कम भएको छ ।”

पछिल्लोपटक बर्दिवास नगर क्षेत्रका पशुपतिनगर, बिजलपुरा, मनहरिपुर, प्रेमनगर र कृष्णपुरसहितका बस्तीका किसानले अपनाएको यो तरिका अब जिल्लाका अन्य भेगका किसानले पनि अनुकरण गर्न थालेका छन् । “बिजलपुरा आफन्त भेट्न गएको थिएँ, त्यहाँ बिजुली र धुआ वन्यजन्तुको क्षति रोक्न प्रभावकारी बनेको देखेँ”, जिल्लाको सुदूर पश्चिमवर्ती गौशाला नगरपालिका–१० बटुवाका किसान लक्ष्मीप्रसाद सिंह कुशवाहाले भने, “आफ्नो बस्ती फर्केर यो उपाय अपनाएँ, अहिले त धेरै किसानले यो सिको गर्नुभयो, निकै राहत भएको छ ।”

बस्ती/बस्तीका किसानले खेतखेतमा बिजुली बालेपछि जताततै चहकिलो उज्यालो देखिन थालेको छ । ‘धुआ’ र ‘बिजली’ ले वन्यजन्तुबाट राहत मिलेको आम किसानले बताउन थालेका छन् । यो तरिकाले वन्यजन्तुबाट मात्र नभई तरकारी, केराका घरी र अन्य फलपूmल चोरी हुने घटना पनि नियन्त्रण हुने किसानको आस छ । “खेतखेतमा सबैतिर झलमल्ल बिजलीको उज्यालो हुन्छ, वन्यजन्तु मात्र हैन, यसले चोर्न पल्केका पनि हच्कने छन्” जिल्लाकै भङ्गाहा नगरपालिका–४ का किसान राजकुमार दास भन्छन्, “खेतमा बिजली बल्न थालेपछि तरकारी चोरेर टिप्ने घटना पनि पातलिएको छ ।”

सघन तरकारी खेती गरिने महोत्तरीका उत्तरी क्षेत्रका स्थानीय तहहरु बर्दिवास, गौशाला, भङ्गाहा र औरहीसहित छिमेकको धनुषा जिल्लाको मिथिला र क्षिरेश्वर नगरपालिका एवं बटेश्वर गाउँपालिकाका बस्ती÷बस्तीमा पनि वन्यजन्तुबाट बाली जोगाउन किसानले ‘धुआ’ र ‘बिजली’ को उपाय बाक्लै अपनाएका देखिन्छ ।

वन्यजन्तुले हैरान बनाइएका किसानले यसअघि वन कार्यालय र स्थानीय प्रहरी÷प्रशासनलाई थुप्रै पटक गुहारे पनि नियन्त्रणको प्रयत्न भएको थिएन । अहिले किसानले आफ्नै पहलकदमीमा थालेको ‘धुआ’ र ‘बिजली’ अब भने प्रभावकारी बनेको देखिँदै छ । किसानले अपनाएको यो नयाँ तरिका बाली जोगाउनसँगै वन्यजन्तु मारिने घटना पनि पातलिने विश्वास गरिएको छ । रासस