किन मनाउने ‘नव–अजित डे’ !

प्रकाशचन्द्र परियार

फागुन २, काठमाडौँ – ‘रोज डे’ देखि ‘चकलेट डे’, ‘हग डे’ देखि ‘भ्यालेन्टाइन्स डे’ सम्म मनाउन उद्यत् नेपाली युवाले पश्चिमाले सुरु गरेको कुन ‘डे’ को विशिष्ट महत्त्व के थियो भनेर थाहा पाउन थालेको पनि दशकौं भइसक्यो। तर आफ्नै माटोले जन्माएको महत्त्वपूर्ण घटना–परिघटना, संस्कृति र सन्दर्भको जगमा आएका र मनाउन सकिने दिवस र पर्वभन्दा विदेशी मिथकमा सुरु भएको प्रेम र त्यागको अनमोल संगम मानिने ‘भ्यालेन्टाइन्स डे’ को नेपालमा हिजोआज जगजगी छ।

सारा प्रेमीप्रेमिकाले बडो रोमाञ्चकता र उत्सवकै रूपमा मनाउँदै आएको ‘भ्यालेन्टाइन्स डे’ सम्भवतः ‘क्रिसमस डे’ पछि सबैभन्दा बढी मनाइने विदेशी संस्कृति हुन सक्छ। नेपालमा मौलाउँदो सांस्कृतिक साम्राज्यबारे एउटा छुट्टै बहस र विश्लेषण गर्न सकिन्छ तर यो आलेखमा भने गहिरो प्रेम हुँदाहुँदै पनि जातकै कारण मारिएका नवराज–अजित–संगीता र शिवशंकर दासहरूको सम्मान र स्मृतिमा किन ‘नव–अजित डे’ नमनाउने भनेर विशेष गरेर युवालाई उद्वेलित गर्ने दुष्प्रयास हुनेछ।

जवाहर, जहर र जेल जमाना

नब्बे सालको भुइँचालोमा जेलमै जन्मिएका सामाजिक जीवनका रूपान्तरणकारी पात्र र चर्चित साहित्यकार हुन् जवाहर रोका। उनका पिताले अधिकारी थरकी उच्च जातकी कन्यासँग प्रेम गरेको सजायस्वरूप दुवैजनालाई मनुस्मृतिमा आधारित जातीय उचनीच कानुनको जगमा राणाकालीन शासकले पूर्वीनेपालको चैनपुर जेलमा थुन्यो। जवाहर रोका तिनै ऐतिहासिक पात्र हुन्, जो आमा र बाबुको कथित विजातीय प्रेमको सजायस्वरूप जेलमा कोचिएका रोका–अधिकारी दम्पतीको प्रेमोपहार बनेर जेलमै जन्मिए।

तिनै जवाहर रोका पछि चर्चित साहित्यकारका रूपमा उदाए। उनले लेखेका समाजपयोगी, रूपान्तरणकारी, समता र मानव मर्यादामा आधारित आधा दर्जन कृति नेपाली समाजको निधि बनेको छ। जवाहर रोका कृत ‘वारन्ट’ कथा संग्रह, ‘फेसुआ’ उपन्यास, ‘सुवासको सिन्दूर’ खण्डकाव्य र ‘छोइछिटोको अन्त्य’ प्रबन्धात्मक कृति समाजपयोगी छन्। जवाहर रोकाबारे रविमान लमजेल, उर्मिलादेवी विश्वकर्माहरूले गरेको अनुसन्धानलाई पछिल्लो पुस्ताले निरन्तरता दिएको छैन, राज्य त कति अनुदार छ भनेर हेर्न प्रधानमन्त्री ओली अनुहार नियाले पुगिहाल्छ।

प्रेमको खातिर नवराज र अजितहरूको सहादत
नेपाल एउटा यस्तो देश हो; जहाँ कथित विजातीय प्रेम गरेकै कारण रुढिवादी समाज हत्यामा उत्रन आजपर्यन्त किञ्चित सरम मान्दैन बरु जातकै लेपमा आफूहरू सबैभन्दा ठूलो भन्दै निकृष्ट अहंकारको फणा फुलाइरहन्छ र भन्छ, तँ ‘सानो जात’ म ‘ठूलो जात’ अर्थात् म जन्मजात ठूलो तँ सानो। जातको जाँतो, जातीय जञ्जिर र जातको जालोले नेपाली समाजलाई यति धेरै गाँजेको छ कि जाततन्त्र अहिले पनि सबैभन्दा शक्तिशाली छ प्रत्यक्ष या परोक्ष।

यसो सोचौं त, ८५ वर्षअघि कति चरम जातीय विभेद थियो होला कल्पना पनि गर्न सकिन्न, जहाँ जातकै आधारमा कानुनको अभ्यास गरिन्थ्यो। रुढीवादी समाज कजाउन कथित निम्न जातिलाई बाँध्न धर्म र परम्पराको जगमा बनाइएका कानुनको आडमा जेलमा कोचिएका विजातीय प्रेमका अनमोल जोडीलाई कति मारियो होला कति डाँटा कटाइयो होला, त्यतिबेला जेलमै मारिदिएको भए के जवाहर रोकाको कृति नेपाली समाजले पाउँथ्यो ?

जातीय अहंकार, जातीय श्रेष्ठता, नश्लवादी घमण्ड र जातीय निकृष्टता इतिहासमा मात्रै होइन; गणतन्त्रको नागरिक जीवनमा आजपर्यन्त एउटा समुदायले भोगिरहेको छ।

जस्तो राष्ट्रिय स्तरको खेलाडी बन्ने जग बनाएका जाजरकोटका नवराज विश्वकर्मालाई रुकुमको (अ)समाजले जातीय उचनीचमा आधारित रुढीवादी परम्पराको जगेर्नास्वरूप नृशंस हत्या गर्दा पनि मुन्टो बटार्ने (अ)समाजमा अर्को मूकदर्शक हुँदै मरेतुल्य बाँचिरहेको अभिनय गर्ने पनि हामी नै होइनौं ?
अजित मिजारहरू कथित विजातीय प्रेम गरेवापत यही समाजमा यसरी मारिन्छन् कि चोखो प्रेमको अंकुर लाग्न नपाउँदै विजातीय प्रेमीप्रेमिकाले यसरी थाहा पाऊन् कि तिम्रो हालत पनि अजितलाई जस्तै मारेर यसरी झुन्ड्याइनेछ है भनेर।

विजातीय प्रेम सफल बनाउन बलिदानी दिने बाबु सेते दमाई
दैलेख तोली गाउँका सन्त परियार र राजकुमारी शाहीबीच लामो समयदेखि प्रेम थियो। एकअर्का सँगै जिउने, सँगै मर्ने कसम खाएका उनीहरूको प्रेम झांगिदै गयो। प्रेमलाई विवाहमा बदल्न दुवैजना राजी भए। प्रेम बिहे भयो। उच्च जातीय अहंकारले घर गरेको तोलीका शाही परिवारले सन्त–राजकुमारी जोडीलाई कुटपिट र डर–धम्की देखाएर खोसे। मायाको अगाडि कसको के लाग्थ्यो। केही समयपछि फेरि उनीहरूको जोडी एक भयो।

आक्रोशित शाही परिवारसहित कथित उच्च जातिका अन्य दर्जनौं हुल्लड समूहले सन्त परियारको हत्या योजना बनाएर धारिलो हतियार, लाठा–मुंग्रासहित सन्तको घर तोली गाउँ पुगे। दानवीय स्वरूपमा आएका हुल्लड समूह देखेर छोराबुहारीको सम्भावित हत्याको मेसो पाएका सेते दमाईले दुवैलाई लुकाए। जति नै अनुनयविनय गर्दा पनि जातीय अहंकारवादीसँग उनको केही लागेन। कथित विजातीय प्रेमका नायक छोरा सन्तलाई लुकाएको रिसमा शाही परिवारले धारिलो हतियार प्रहार गरेर सेतेको हत्या गरिछाड्यो। यो घटना २०६८ साल भदौ १३ गते रातको हो। छोराको विजातीय प्रेमका कारण मारिएका सेते दमाई नेपाली सामाजिक रूपान्तरण आन्दोलनका एक ऐतिहासिक पात्र हुन्, जसको योगदान चानचुने हुनै सक्दैन।
सन्तु–राजकुमारी जोडी दुई सन्तानसहित सुर्खेतमा छन्। स्तम्भकारलाई सन्तु भन्दै थिए, ‘दाजु बुवाको सालिक राख्नुपर्छ, म बोलाउँछु जसरी पनि आउनुपर्छ है।’

नेपालमा समेत हिजोआज रमझम र हर्षोल्लासका साथ मनाइने गरिएको ‘भ्यालेन्टाइन्स डे’ को रचना गर्भ, अधिक हानि, पृष्ठभूमि र बलिदानीको व्याख्या क्रिस्चियन संस्कृति र समुदायले गर्ने नै भयो। ‘भ्यालेन्टाइन्स डे’ यसरी नेपालमा फैलिँदै र झांगिदै गइरहेको छ कि पछिपछि यो समाजकै एउटा सांस्कृतिक अंग बन्न बेर छैन। मेरो एउटा मात्र प्रस्ताव यो छ कि प्रेमको मूल्यका खातिर, प्रेमका लागि दिइएको बलिदानीको मर्मका लागि, प्रेमको दबाइएको स्वरका लागि, प्रेमकै कारण सहादती दिनुपरेको नवराज विश्वकर्मा र अजित मिजारहरूको सम्मानार्थ, स्मृतिका लागि अब ‘भ्यालेन्टाइन्स डे’ होइन ‘नव–अजित डे’ मनाउन सुरु गरौं।’

नव–अजित डे’ यस्तो दिवस बनोस्, प्रेम गर्दा कथित जातकै कारण अब नवराज विश्वकर्माहरू, अजित मिजारहरू र उनीहरूजस्तै ज्ञात–अज्ञात विजातीय प्रेमीजोडीहरू मारिने छैनन्; बरु विश्वमै नयाँ प्रेम दिवस अर्थात् ‘नव–अजित डे’ मनाउन सुरु होस् र विश्व जगत्ले समृद्ध नेपालतिर फर्केर एउटा प्रश्न तेर्साओस्। आज नेपाल यति समृद्ध छ, विगतमा त्यहाँ कथित जातीय उचनीचकै आधारमा प्रेमीप्रेमिकाको हत्या गरिएको इतिहास थियो– यो आततायी, मानव जीवनको कलंकरूपी कुसंस्कारको कसरी अन्त्य भएछ भनेर सिक्न जान्न पाइन्छ कि भनेर ?
हामीलाई यति थाहा हुनैपर्छ– छुवाछूत तथा जातीय विभेद पालेर विश्वमञ्चमा नेपालको शिर कहिल्यै उचो हुने छैन। एकपटक अलि गहिरिएर सोचौं– विगतदेखि वर्तमानसम्मै हामीले वर्ग–वर्ग मात्रै भनिरहेका छौं, वर्गभित्र पनि निकृष्ट वर्ण छ है भनेर वर्ण कहिल्यै पढाइएन। किनकि वर्गीय विभेद र जातीय विभेद अलि विशिष्ट फरक कुरा हो।

वर्णमा जातीय अहंकार, जातीय श्रेष्ठता, नश्लवादी घमण्ड र जातीय निकृष्टता स्वाभाविक अधिक हुन्छ। त्यसलाई न्यून गर्दै निमिट्यान्न पार्न विगतदेखि नै आन्दोलन र विद्रोह भएका थिए, हुनेवाला पनि छ। किनकि इतिहासको निर्मम ढुंगामा कुँदिएको त्यो प्रेमकथा– प्यारी बाहुनीलाई माया गर्दा कथित ‘अछूत’हरूमध्ये कैयन् काटिएका, मारिएका र कथित अछूतसँग बिहे गर्दा कैयन् बाहुनको जातघटुवा गरिएका, गाउँनिकाला गरिएका, कथित ‘माथिल्लो’ र ‘तल्लो’ वर्ण तथा जातबीच प्रेम र बिहे हुँदा कैयन्को सर्वस्वहरण गरिएका कुरा राणाकालको दुःखद इतिहासमा मात्रै होइन; गणतन्त्रको नागरिक जीवनमा आजपर्यन्त एउटा समुदायले भोगिरहेको छ। प्रजातन्त्र/लोकतन्त्रपछि तुलाराम सुनार, धीरबहादुर परियार, ममता अच्छामी, कृष्णकुमार पासवानको अन्तरजातीय विवाहका कारण कथित उच्च जातिका भनाउँदाले हत्या नै गरिदिए। गणतन्त्रपछिको दशकमा अजित मिजार, सेते दमाई, शिवशंकर पासवान, संगीता परियार, अस्मिता तोलांगीहरूको विजातीय प्रेमकै कारण हत्या गरियो, नवराज विश्वकर्माको विजातीय प्रेमविरुद्ध आधा दर्जन साथीहरूको हत्या गर्न उत्रने (अ)समाजको मूकदर्शक सदस्य बनेर बाँच्नु पनि बाँच्नु हो र ?

बरु आउनुहोस् ‘भ्यालेन्टाइन्स डे’ होइन ‘नव–अजित डे’ मनाउने जग खनौं, राज्यलाई जवाफदेही बनाऔं, सरकारलाई जिम्मेवार बनाऔं, समाजलाई मानवतावादी बनाऔं अनि हरेक जेठ १० गते ह्याप्पी ‘नव–अजित डे’ भन्दै मुस्कान साटौं, फेरि नवराजहरूको अन्तरजातीय प्रेमकै कारण मारिने दुःखद विगतको अन्त्यको सामूहिक पहल गरौ ! ह्याप्पी ‘नव–अजित डे !’

अन्नपुर्ण पोष्टबाट साभार