माघ २७, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका छन्।
मंगलबार बिहान साढे ११ बजेतिर आयोग पुगेका प्रधानमन्त्रीले वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारीबारे जानकारी लिएका हुन्।
निर्वाचन आयोगले आफूहरू चुनावको तयारीमा जुटेको र तोकिएकै समयमा चुनाव होस् भन्ने अपेक्षा गरिएको बताएको छ।
‘हामी सबै निर्वाचनको तयारीमा जुटेका छौं। तोकिएकै समयमा निर्वाचन होस्। हामी त्यसका लागि तयार छौं’, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने।
त्यसलगत्तै प्रधानमन्त्रीले तोकिएकै समयमा निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिए।
नेकपाको आधिकारिकताको सवालमा आयोगले माघ ११ गते नै एउटा निर्णय गरिसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।
प्रधानमन्त्रीले आयोगलाई यी विषय नियम, कानुन र पुरानो अभ्यास अनुसार नै गर्ने कुरा समेत भएको बताएको थापाले जानकारी दिए।
ओली समूहका महासचिव विष्णु पौडेलले भने चुनावको तयारीबारेमा छलफल भएको बताए। उनले पार्टी आधिकारिकताको विषयमा भने आफूहरूको पार्टी नै आधिकारिक हुने दाबी गरे।
‘आज चुनावको तयारीबारे छलफल भयो। पार्टी आधिकारिकताको विषयमा कुनै सवाल नै छैन। पार्टी हाम्रै आधिकारिक हुन्छ। चुनाव चिन्ह पनि हामीले नै पाउँछौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ।
ओली र प्रचण्ड(नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन्। उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।
यसअघि आयोगले कुनै पनि समूहलाई नेकपाको आधिकारिकता दिएको थिएन।
यसअघि गत माघ २० गते नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निर्वाचन आयोगको कार्यालय पुगेर पार्टीको आधिकारिकता दाबी गरेका थिए।