‘बैशाखमा कुनै पनि हालतमा चुनाव हुन्छ’–नेकपा बाँके संयोजक ढकाल

माघ २६, काठमाडौं – संसद विघटनको मुद्धा अझै अदालतमा विचाराधिन छ । अहिले संवैधानिक इजालासमा त्यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । अर्कातिर सत्ताधारी नेकपा भने संसद विघटनको निर्णयपछि स्पष्ट रुपमा दुई खेमामा विभाजित भइसकेको अवस्था छ । दुुवै पक्षले अहिले देशभर समानान्तर पार्टीको अभ्यास गरिरहेका छन् । प्रचण्ड माधव नेपाल नेतृत्वको खेमाले निरन्तर संसद विघटनको विरोध गर्दै आन्दोलन गरिरहेको छ । यसैगरि प्रधामन्त्री समेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेको पक्षले भने संगठन विस्तारलाई तिव्रता दिइरहेको छ । ओली पक्षले प्रदेश, जिल्ला तथा स्थानीय स्तरमा संगठन विस्तार गरिरहेको हो । यसै शिलशिलामा ओली पक्षले लुम्बिनी प्रदेशमा समेत आफ्नो संगठन विस्तार गरेको छ । संसद विघटन पछिको नेपालको राजनीतिक अवस्था, ओली पक्षका कार्यक्रम र लुम्बिनी प्रदेशमा भइरहेका गतिविधि बारेमा नेकपा ओली समुहको बाँके जिल्ला संयोजक बनेका सुर्य ढकालसँग इमेलखबरले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेरिरहनु भएको छ ?

स्वभाविक रुपमा संसद विघटनको निर्णयपछि नेपालको राजनीतिक अवस्था केही असहज जस्तो देखिएको छ । त्यसको प्रभाव हाम्रो आन्तरिक पार्टी जीवनमा समेत परेको छ । अहिले दुई वटा समूहमा देखा परेका छन् । एउटा समुहको नेतृत्व सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहनु भएको छ भने, अर्को समूहको नेतृत्व प्रचण्ड र मावध नेपालले गरिरहेको अवस्था छ । यस्तै अन्य दल पनि आन्दोलनमा छन् । राजनीतिमा केही बोल्ड डिसिजन भएपछि यस्ता खालका विरोधका आवाज सुनिन्छन् । अर्कातिर पार्टीका केही शीर्ष कमरेडहरु ओलीको निर्णयप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेर जानु भएको छ । अर्कातिर हाम्रो पार्टीमा आधिकारिताको पनि लडाइ चलिरहेको अवस्था छ । निवार्चन आयोगले नै ओली नेतृत्वको पार्टी नै आधिकारिक हो भनिसकेपछि यो धेरै बहसको विषय भएन । जुन संसद विघटन असंवैधानिक हो भनिएको छ । यो नयाँ जनादेशमा जानको लागि गरिएको जनप्रेमी निर्णय हो ।

प्रदेश र जिल्लामा भइरहेको संगठन विस्तारका विषयमा बताइदिनुन ?

हाम्रो पार्टी विशाल छ । देशको सत्ताधारी पार्टी समेत हो । अहिले केन्द्रमा नेताहरु बीच जुन किसिमको विवाद देखिएको छ । त्यसको बाछिटा प्रदेश तथा जिल्ला स्तरमा देखिएको छ । जुन स्वाभाविक हो । मैले अघि नै भनिसके, केही कमरेडहरु पार्टी छोडेर जानु भएको छ । प्रदेश र जिल्लामा पनि उहाँहरुको पक्षमा लाग्नु भएका कमरेडहरुको रिक्त रहेका पदमा पुर्णता दिइएको हो । केन्द्रमा हामी नै आधिाकारिक भएकोले प्रदेश र जिल्ला तहमा पनि हामी आधिकारिक हौँ भन्ने कुरामा दुई मत भएन । त्यसैले बाँके जिल्लामा मैले नेतृत्व गरेको पार्टी नै आधिकारिक हो । लुम्बिनी प्रदेश तथा अन्य जिल्लाका हकमा समेत त्यहिँ हो । यदि उहाँ आफ्नो गल्ती स्वीकार गरेर आउनुहुन्छ भने उहाँलाई राम्रो स्थान दिइनेछ ।

अहिलेको अवस्थामा प्रचण्ड र माधव नेपाल फेरी मिल्न सक्ने अवस्था देख्नुहुन्छ तपाई ?

हुन सक्छ । उहाँहरुले कमीकमजोरी गर्नु भएको छ । गल्ती गर्नु भएको छ । सच्चिएर, सुर्धिएर आउनु भयो भने हामी स्वागत गर्न तयार छौ । अर्कातिर कम्युनिस्ट पार्टीमा आलोचना, आत्मआलोचना हुनुलाई स्वभाविक मानिन्छ । तर उहाँहरुले जनतासँग माफी माग्नुपर्छ । हामीले केन्द्रीय कमिटी, पार्टीको अध्यक्ष, शीर्ष नेताबाट हटाएका छैनौ । उहाँहरुले फर्किएर आउनुहुन्छ भन्ने हाम्रो विस्वास छ ।

संसद विघटन हुनुका पछाडि सबै भन्दा बढी जिम्मेवार कसलाई देख्नुहुन्छ ?

संसद विघटनको पछाडि देशी, विदेशी प्रतिक्रियावादीहरुको हात छ । त्यो भन्दा बढि जिम्मेवार त प्रचण्ड र माधव नेपालहरु हुनुहुन्छ । उहाँहरुलेको सत्ता लिप्सा, पदलुलुपताका कारण देशले संकट व्यहोर्नु परेको हो । उहाँहरुले ओलीलाई न त पार्टीमा न सरकार नै चलाउन दिनुभयो । ओलीलाई एकताको सुरुवात दिन देखि नै उहाँको असहयोग असहयोग रहयो । कहिल्यै पनि सरकारले गरेका राम्रो कामको प्रचार गर्नु भएन । उल्टै सरकारले काम गर्न सकेन भन्दै राजिनामा माग्दै हिड्नु भयो । ओली उहाँहरुलाई सम्झाउन बुझाउन धेरै प्रयास गर्नुभयो तर उहाँहरुको भूमिका र कार्यशैलीमा परिवर्तन आउन सकेको छ । हुँदाहुँदा पछिल्लो समय जस्केलाबाट अविस्वासको प्रस्ताव दर्ज भएपछि प्रधानमन्धीले बाध्य भएर यस्तो निर्णय गर्नु भएको हो । लोकतन्त्रमा चुनाव हुनुकाु सुन्दर पक्ष हो । अहिले काम गर्न नदिइएको भन्दै नयाँ जनादेश प्राप्त गर्नको लागि संसद विघटन भएको हो । जुन संवैधानिक छ । अब संसद पुनःस्थापना सम्भव छैन ।चुनावमा त्यस्ता व्यक्तिहरुले चुन्नेवाला पनि छैनन् ।

के ओलीले एमाले र जनताको बहुदलीय जनवाद व्युताउन खोजेका हुन् पार्टी फुटाएर ?

यसमा पनि विरोधीहरुले भ्रम फिजाइरहेका छन्, ओली अब एमाले व्युताउँछन् भनेर । म तपाईलाई भन्न चाहन्छु । अब एमाले व्युतिन सम्भव छैन । तत्कालीन माओबादीसँग एकता भएपछि एमाले भन्ने पार्टी नै रहेन । तर एमालेको मुख्य सिद्धान्त जवज भने थियो । जनताको जनवादको नाममा । पार्टी एकता गर्दा हामीले अर्का मनोविज्ञानको पार्टीका साथीहरुलाई चित्त बुझाउ त्यसो गरेका थियौ ।

बैशखमा तोकिएको निर्वाचन हुन सम्भव छ ?

छ नी, बैशाखमा निर्वाचन भएरै छोड्छ । विघटन भइसकेको संसद पुनःस्थापनाको कुरा गरिएको छ । त्यो सम्भवको विषय होइन । देशलाई अग्रगमनतिर लैजान केपी ओलीको खाँचो छ । हामी जवजको मुल सिद्धान्त बनाएर समृद्ध नेपालको नारा लिएर चुनावमा जान्छौ । सबै जनतालाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आह्वान गर्न चाहन्छु ।