आमहड्तालका क्रममा प्रहरीले जडिबुटी र कोटेश्वरमा गरे अवरोध

माघ २२, काठमाडौं –  प्रचण्ड-नेपाल समूहको आमहड्तालका क्रममा प्रहरीले कोटेश्वर/जडिबुटी सडकखण्ड अवरूद्ध गरेको छ।

कोटेश्वर चोकमा बन्दकर्ताहरूको भीड रहेको भन्दै प्रहरीले जडिबुटी र कोटेश्वरमा अवरोधक राखेरै बाटो बन्द गरेको हो।

ती स्थानमा सर्वसाधारण, अत्यावश्यक सेवाका सवारीसाधन र पत्रकारलाई पनि रोक लगाइएको छ। प्रहरीले सर्वसाधारणलाई अवरोध गरी भित्री बाटोबाट ‘डाइभर्ट’ गराएको छ।

बुधबार गृह मन्त्रालयले बन्दका क्रममा शान्ति(सुरक्षा दिने भन्दै सर्वसाधारणको आवागमनमा सुरक्षा दिने भनेको थियो।

तर, गृहको निर्णयविपरीत काठमाडौं प्रहरी र महानगरीय ट्राफिक महाशाखाले भने सडकमा सर्वसाधारणलाई अवरोध पुर्‍याएका छन्।

जडिबुटी चोकमा सवारीसाधनलाई प्रहरीले अवरोध गरिरहेको छ।
दर्जनौं सवारीसाधन, मोटरसाइकललाई गन्तव्य पुग्नुअगावै फर्काइएको छ।

भक्तपुर र ललितपुरमा भने आवागमनमा अवरोध गरिएको छैन।

महानगरीय प्रहरी परिसर काठमाडौंले कोटेश्वरको अवरोध हटाउने प्रयास भइरहेको बतायो।

‘कोटेश्वरमा अवरोध आएको छ, हामी हटाउने प्रयासमा छौं,’ परिसर प्रवक्ता रमेश बस्नेतले भने।

कोटेश्वर चोकमा बन्दकर्ताहरू जम्मा भएर नाराबाजी गरिरहेका छन्।