डिजेल बरामद

माघ ७, काठमाडौँ – जिल्ला प्रहरी कार्यालय मोरङले आज बिलविनाको एक हजार १०० लिटर डिजेल बरामद गरेको छ । विगत केही दिनदेखि नेपालबाट डिजेल भारततर्फ तस्करी भइरहेको पाइएकाले प्रहरी यसतर्फ निगरानी बढाउन थालेको थियो ।

विराटनगर महानगरपालिका वडा नं ११ स्थित केशलिया सडक खण्डमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले डिजेल बोकेको सिटी रिक्सा एक थान, मोटरसाइकल चार थानसहित नरेश सहनी र सुनसरी साहेबगञ्जका सुरज साहलाई पक्राउ गरेको छ ।

यसैगरी भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली चार वटा साइकलमा ल्याइरहेको ७२ वटा ब्रोइलर कुखुरासहित चार जनालाई प्रहरीले आजै पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए । रासस