बाँकेमा कोरोनाबाट दुईको मृत्यु

माघ ६, काठमाडौँ – बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमै मृत्यु भएको जानकारी दिइएको छ ।

गत पुस २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि २७ गते भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । बिरामीको स्वास्थ्यमा सुधार भएपछि २९ गतदेखि पुनः होम आइसोलेसनमा बसेका उनको मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।

अर्को एक जना होम आइसोलेसनमा बसेका नेपालगञ्जकै वडा नम्बर १ का ४९ बर्षीय पुरुषको पनि आज मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका उनी एक्कासि बेहोस भएका थिए । भेरी अस्पताल लगिएलगत्तै उनको मृत्यु भएको फोकल पर्सन वलीले बताउनुभयो । उनलाई पुस २८ गते कोरोना पुष्टि भएको थियो । रासस