स्थानीय तहबाट कैदीबन्दीलाई खाट उपलब्ध

स २२, काठमाडौँ – सुत्ने खाट अभावमा दमौली कारागारका कैदीबन्दी चिसो भूइँमा सुत्नुपर्ने अवस्था आएपछि यहाँका स्थानीय तहले खाट सहयोग गर्न थालेका छन् । स्थानीय तहबाट खाट उपलब्ध हुन थालेपछि चिसो भूइँमा सुत्नुपर्ने बाध्यता हटेसँगै यहाँका कैदीबन्दी खुशी भएका छन् ।

कारागारमा बजेट अभावका कारण खाट राख्न नसकेपछि यहाँका कैदीबन्दी केही समय चिसो भूइँमा समेत सुत्न बाध्य भएका थिए । केही समयअघि राससमा ‘चिसो भूइँमा सुत्छन् कैदीबन्दीहरु’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि स्थानीय तहले सहयोगको लागि चासो देखाएका हुन् । सो समाचार प्रकाशित भएलगत्तै ब्यास नगरपालिकाले ४० थान एकल, म्याग्दे गाउँपालिकाले दुई जना क्षमताको ११ थान, बन्दिपुर गाउँपालिकाबाट पाँच थान, कास्की निवासी कृष्टिना गुरुङले दुई क्षमताको छ थान खाट सहयोग गरिसकेका छन् ।

जिल्लाका १० पालिकामध्ये अन्य सात पालिकाले पनि सहयोग गर्ने गरी प्रतिबद्धता जनाएको कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए । कारागारमा स्थानीय तहले सहयोग गरेपछि कैदीबन्दीलाई सुत्न सहज भएको उनको भनाइ छ ।