९५ प्रतिशत प्रभावकारी भएपछि कोभिड विरुद्धको खोपलाई बेलायतले दियो अनुमति

मंसिर १७, एजेन्सी  – बेलायतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका लागि स्विकृती दिएको छ ।

जर्मन बायोनटेक औषधि कम्पनी र अमेरिकी फाइजरले तयार गरेको कोभिड–१९ विरुद्धको खोपलाई बेलायतले स्विकृत दिएको हो ।

यो सँगै बेलायत कोभिड–१९ विरुद्धको खोपलाई स्विकृती दिने विश्वकै पहिलो देश भएको छ ।

यो खोपको परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी पाइएको बीबीसीमा उल्लेख छ । कोभिड–१९ को उच्च जोखिममा रहेका मानिसहरुलाई लगाउनका लागि बेलायतले ४ करोड खोप किनिसकेको छ । यसले २ करोड मानिसलाई पुग्ने जनाइएको छ ।

बेलायतको मेडिसिन एण्ड हेल्थ प्रोडक्ट रेगुलेटरी एजेन्सीले स्विकृत दिएको सो खोप आगामी साताबाटै जोखिममा रहेका मानिसलाई दिन लागिएको हो ।

कोभिड–१९ विरुद्धको खोप निर्माण गरेका कम्पनी बायोनटेक र फाइजरले यसअघि नै आफूले बनाएको कोभिड विरुद्धको खोप ९५ प्रतिशत सफल भएको जनाएका थिए ।