कोरोनाका कारण बैतडीमा रेडक्रसका सेवा बन्द

मंसिर १७, काठमाडौ – नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिकबाहेकका सबै सेवा बन्द भएको जनाएको छ । कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयलाई मङ्गलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य तेजप्रकाश भट्टले जानकारी दिएका हुन ।

दशरथचन्द नगरपालिकाले मङ्सिर २२ गतेसम्मका लागि लकडाउन गरेकाले सोही दिनसम्म रेडक्रसले शाखामार्फत दिइने सेवा बन्द गर्ने निर्णय गरेको उनले बताए । रेडक्रस बैतडीले एक सूचना जारी गर्दै आकस्मिकबाहेकका सबै सेवा बन्द भएको जनाएको हो ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम अधिकृत पाण्डेयले आफ्नो सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन । आफूमा समान्य लक्षण देखिएपछि कोरोना परीक्षण गरेको र रिपोर्ट पोजेटिभ आएकाले अहिले आफू आइसोलेसनमा बसिरहेको उनले बताए । पछिल्लो एक हप्ता सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न उनले आग्रह गरेका छन ।