लकडाउन हटाउने बेलायतको तयारी

मंसिर १६ बेलायत  – कोरोना भाइरसको संक्रमण फैलदै गएपछि बेलायतले दोस्रोपटक गरेको लकडाउन हटाउने तयारी गरेको छ । बेलायतले क्रिसमसका बेला लकडाउन खुकुलो बनाउन लागेको हो । बेलायत सरकारले डिसेम्बर २ मा लकडाउन हटाउने भएको हो । यद्यपि अझै पनि जोखिम र संक्रमण वृद्धि भइरहेका स्थानमा भने अरु प्रतिबन्धहरू कायम नै हुनेछन् ।

लकडाउन हटाउने योजनासहित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत साता ‘कोभिड विन्टर प्लान’ घोषणा गरेका थिए । संक्रमणको स्तरका आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा विभाजन गरी प्रतिबन्ध लागू गरिनेछ । अहिले बन्द रहेका व्यवसाय, रेष्टुरेन्ट, जीमखाना लगायत सञ्चालन हुने भएका छन् ।

कोभिड–१९ को संक्रमण फैलिने क्रम बढेसँगै बेलायत सरकारले गएको नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म देशब्यापी लकडाउन गरेको थियो । यसअघि मार्च अन्तिम हप्तादेखि त्यहाँ पहिलोपटक करिव तीन महिना लकडाउन गरिएको थियो ।