सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषदबाट स्वीकृती

मंसिर ११, काठमाडौं  – सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृती प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका लागि भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती प्रदान गरेको हो ।
भूमी व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका लागि स्वीकृती प्रदान गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेकी थिइन् । आर्थिक वर्ष २०६४÷६५ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछी सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिइन् । उनले भनिन्, ‘सरकारले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको छ । त्यो कार्य अहिले सम्पन्न भएको छ । अब हामी आफैंले नापेको सगरमाथाको उचाई औपचारिक रुपमा घोषणा गर्ने चरणमा आइपुगेका छौं ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुन सक्ने भन्ने चर्चा चलेपछी नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो ।

मन्त्रिपरिषदबाट स्वीकृती प्रदान भइसकेपछी अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ ।

सन् २०१९ मा चीनका राष्ट्रपती सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो । सोही बमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।

यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाई मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ मिटर हालसम्म कायम रहि आएको छ ।