बीबीसी हन्ड्रेड विमिन २०२०: सपना भन्छिन्, ‘यो सम्मानले हौसला र प्रेरणा दिएको छ’

नेपालको म्याग्दीकी १९ वर्षीया सपना रोका मगर संसारकी १ सय प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बेलायती मिडिया ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन(बीबीसी)ले प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको प्रभावशाली सय महिलाको सूचिमा पशुपतिमा बेवारिसे लास जलाउने मगर परेकी हुन् । यो सूचिमा पर्ने उनी सबै भन्दा कम उमेरकी अभियान्ता समेत हुन् । बीबीसी हन्ड्रेड विमिन २०२०ः मा संसारभरका १ सय जना महिला मध्ये नेपालबाट १९ वर्षीया सपना रोका मगर पनि परेको सूचि सार्वजनिक गरिएको हो । मगर विगत तीन वर्षयता देशभरका बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन् । प्रस्तुत छ, इमेलखबरले उनी सँग गरेको संक्षिप्त कुराकानी :

विश्व कै प्रभावशाली महिलाको सूचिमा पर्नु भयो, कस्तो महशुस भइरहेको छ ?

एकदमै खुसी छु । राम्रो कामको मुल्यांकन हुदो रहेछ भन्ने लागेको छ । यसले मलाई खुसी मात्रै बनाएको छैन । आगामी दिनमा यही क्षेत्रमा काम गरिरहने प्रेरणा मिलेको छ । यो मेरो मात्रै सफलता होइन । हाम्रो सिंगो टिम, सहयोगी मनहरु, सुभेच्छुकहरुको पनि सफलता हो । समग्रमा हाम्रो कामको मुल्यांकन भएको मैले महशुस गरेकी छु । अहिले त म घर मै छु । घरमा आमा बुबा धेरै खुसी हुनु भएको छ ।

बीबीसीको प्रभावशाली सय महिलामा परेको कसरी थाहा पाउनु भयो नी ?

दशैयता म्याग्दी मै छु । हाम्रो संस्थाको शाखा चितवनमा पछि छ । आउने जाने काम भइरहेको छ । भर्खरै जन्मदिन पनि मनाए । अघिल्लो दिन गाउँ कै सय जना भन्दा बढी असहायहरुलाई सहयोग गरेका थियौ । राती ११ बजेतिर पुगेको थिए । मंगलबार विहान म सुतिरहेको थिए । एक्कासी नयाँ नम्बरबाट फोन आयो, उहाँले बीबीसीको प्रभावशाली सय महिलाको सूचिमा परेको भन्दै बधाई दिनु भयो, मलाई पत्यार नै लागेन । हत्तपत्त फेसबुक खोले । जताजतै बधाईको ओइरो नै थियो । बल्ल उठे । सबै भन्दा अघि आमालाई सुनाए । उहाँ एकपटक त नि :शब्द हुनु भयो । अनि बुबालाई भने । उहाँले मलाई अंकमाल गर्नुभयो । दिनभर फोन र म्यासेज यतिधेरै आए की फोन उठाउन र म्यासेज रिप्लाई गर्न नै भ्याइन । धेरै मिडियाहरुले पनि समाचार कभर गर्नु भएको छ । अन्तरर्वार्ताको लागि पनि अफर गर्नु भयो । निकै व्यवस्त भए । अबको केही दिनमा काठमाडौ आउदैछु ।

१८ वर्षको उमेर मै समाज सेवामा कसरी जोडिनु भयो ?

म यो काममा समाजसेवी हुन्छु भनेर लागेको होइन । मेरो विगत पनि बेवारिसे अवस्थामा बित्यो । त्यो अरु कोही नभएर मेरो आफ्नै कारणले भएको हो । धेरै समय म पनि सडक मानव भएको थिए । सडकमा बस्ने मानिसहरुको दुःख मलाई राम्रैसँग थाहा छ । जिउँदा मानिसहरुको यो सहर म मरेका मानिसको शव व्यवस्थापन लाग्नुका कारण धेरै छन् । आज भन्दा ती वर्ष अगाडि म घरबाट निस्किए । दुव्र्यसनमा फसे । सडकमा बास भयो । पढाइको लागि पोखरा पुगे । म सँग आफ्नो भन्नु कोही पनि थिएन । मेरो भेट सलिना दिदिसँग भयो । उहाँसँग संगत भएपनि विनयजंग बस्नेत बुबासँग भयो । काठमाडौ आए । विदेशको लागि अप्लाई गरेको थिए । दिदिको एसेप्ट भयो, मेरो भएन । बुबासँग बस्न थाले । उहाँ ६ वर्ष देखि यही क्षेत्रमा लागिरहनु भएको छ । मेरो जिद्धिकै कारण यो क्षेत्रमा लागेको हो । समाजसेवी बन्नको लागि होइन । आजको यो दिन देखौला भन्ने सपनामा पनि सोचेको थिइन ।

अब आगामी योजना के छ ?

अहिले घर मै छु । केहीदिनमा काठमाडौ आउछु । सर्वप्रथम काठमाडौ आएपछि सबैसँग खुसी साट्ने छु । आगामी काम भनेको त अहिले गरिरहेकै कामलाई विस्तार र निरन्तरता नै गर्ने हो । अहिले गरिरहेको कामलाई निरन्तरता दिने र अझै ठूलो समूह बनाउने, शाखा बिस्तार गर्ने काममा हामी सक्रिय हुनेछौ ।

अन्त्यमा केहि भन्नु छ ?

अहिले सम्म मलाई र मेरो टिमलाई साथ दिने सबैलाई धन्यावाद । मलाई यो काममा लाग्न प्रेरणा दिनुहुने बुबा विनयजंग बस्नेतलाई धेरै धेरुे धन्यावाद, धन्यावाद सम्पूर्ण सहयोगी र सुभेच्छुकहरुलाई ।