नगरपालिकामा अख्तियारको छापा

मंसिर ९, काठमाडौ – सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो । अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ ।

नगरपालिकाले कात्तिक २६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा दुई करोड २१ लाख ३४ हजार खर्च भएको विवरण सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको सो खर्च विवरणमा लाइफब्वाइ साबुनको प्रतिगोटा मूल्य तीन हजार ८३१.४२ मा खरिद गरिएको उल्लेख भएपछि चर्को आलोचना भएको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका नाममा नगरपालिकाले चरम आर्थिक अनियमितता गरेको भन्दै स्थानीयवासीले सूचना उपलब्ध गराउन नगरपालिकामा निवेदन नै दिएका थिए । नगरपालिकाले पुनः मङ्सिर ३ गते पत्रकार सम्मेलन गरी स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जालगायतका सामग्री बजार मूल्यअनुसार नै खरिद गरिएको स्पष्टीकरण दिएको थियो । शीर्षकअनुसार खर्च गरी बिल भर्पाइ राखिएको र सार्वजनिक गरिएको आय–व्यय हिसाबको ‘प्रिन्ट मिस्टेक’ भएर सञ्चारमाध्यममा भ्रामक समाचार पुगेको नगरप्रमुख आतेशकुमार सिंह यादवले स्पष्ट पार्ने प्रयास गरेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले समेत खर्च विवरणमा ‘प्रिन्ट मिस्टेक’ भएकाले खर्च विवरण बढी देखिएको बताउँदै एक करोड २७ लाख २९ हजार ४२९ कोरोना शीर्षकमा खर्च भएको जानकारी दिए ।

बोदे बर्साइन नगरपालिका कार्यालयले २०७६ चैत २२ गते ९५ वटा साबुन तीन लाख ६३ हजार ९८५ लागतमा खरिद गरिएको प्रमाणित खर्च विवरणमा देखाएको थियो । टाइप गर्दा ९५ कार्टुन लेख्नुपर्नेमा कर्मचारीको कमजोरीले ९५ वटा भएको नगरप्रमुख यादवको जिकिर छ । सार्वजनिक गरिएको हिसाबको अर्को शीर्षकमा भने साबुनको प्रतिगोटा २९९.९६ पैसाको दरले खरिद गरिएको उल्लेख छ । अर्को शीर्षकमा एक हजार ४४० वटा लाइफब्वाइ साबुनलाई रु चार लाख ३१ हजार ९५५ मा खरिद गरिएको हिसाब देखाइएको छ ।